• १५ असार २०८१, शनिबार

एयरपोर्टको पार्किङ शुल्क घटाउन माग

blog

पोखरा समाचारदाता

पोखरा, असार २७ गते  । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ। यसका साथै सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पु-याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। 

सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिसहितको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका निर्देशक विक्रम गौतमलाई ध्यानाकर्षण पत्र बुझाएको हो। उक्त पत्रमा पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क जायज नभएको उल्लेख गरिएको छ। उक्त ध्यानाकर्षण पत्रमा विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग यस सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेमा जोड दिइएको छ। विमानस्थलले सेवा प्रवाहबाटै उपभोक्ताको मन जित्नुपर्ने बताइएको छ। 

विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित, सस्तो, सुलभ एवं नागरिकमैत्री पार्किङ हुनुपर्ने ध्यानाकर्षण पत्रमा जनाइएको छ। ध्यानाकर्षण पत्र बुझ्दै विमानस्थल प्रमुख विक्रम गौतमले विमानस्थल प्रशासन यात्रु ल्याउने लैजाने कार्यमा सहजीकरण गर्न तयार रहेको बताउनुभयो। उहाँले पार्किङ शुल्क केही महँगो भएको पनि स्वीकार्दै राजमार्गसम्म निःशुल्क वा सशुल्क बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो।