कपिल ज्ञवाली
सिद्धार्थनगर, असार २६ गते । तिलोत्तमा नगरपालिकाले २१ वटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरेको छ । नगरभित्रका माध्यमिक तहका २१ वटा विद्यालयलाई मंगलबार प्रतिविद्यालय १–१ वटा ल्यापटप र प्रोजेक्टर वितरण गरेको हो ।
अहिलेको युग विज्ञान र प्रविधिको युग रहेकाले विद्यालयहरु पनि प्रविधिमैत्री बन्नुपर्ने भएकाले विद्यालयलाई प्राजेक्टर र ल्यापटप वितरण गरेको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । तिलोत्तमा नगरको शिक्षालाई प्रविधिमैत्री बनाउन आफु प्रतिबद्ध रहेको र त्यसका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने हरेक प्रकारका सहयोग गर्ने उल्लेख गर्नुभयो ।
‘अहिलेको विज्ञान र प्रविधिको युगमा विद्यालयको सिकाई पनि प्रविधिमैत्री हुनुपर्छ । प्राविधिक शिक्षाको विकासबाट मात्रै नगर र राष्ट्रको विकास सम्भव छ’ नगरप्रमुख खाणले भन्नुभयो, ‘यसकारणले विद्यालयलाई प्रविधिमैत्री बनाउन ती सामग्री प्रदान गरिएको हो ।’
नगरले गरेको यो कामको बिद्यालयले सकारात्मक रुपले लिएको शान्ति नमुना माबिका प्राचार्य कुलप्रसाद लामिछानेले बताउनुभयो । यसैबीच नगरपालिकाले संस्थागत विद्यालयले नियमअनुसार उपलब्ध गराउनुपर्ने छात्रवृत्ति विवरण र विद्यार्थीबाट उठाउने शुल्कको विवरण बुझाउन संस्थागत विद्यालयलाई पत्राचार गरेको छ ।
मंगलबार नगर प्रमुख रामकृष्ण खाणले जारी गरेको पत्रमा नगरभित्रका सामुदायिक विद्यालयलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली र विद्यालयले उठाउने शुल्कको विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिनुभयो ।
नगरप्रमुख खाणका अनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति प्राप्त गर्छन् । तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् ।