• ८ वैशाख २०८१, शनिबार

कोरोना बीमा बापतको दाबी भुक्तानी पाउने सम्भावना न्यून

blog

काठमाडौं, असार २६ गते । कोरोना बीमा दाबी भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन । 

नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारबाट अहिले रकम निकासा नभएको र बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले रकम दिन सक्ने स्थिति नभएका कारण तत्काल भुक्तानी पाउने सम्भावना छैन ।

उहाँले भन्नुभयो, “अहिले अर्थ मन्त्रालयले रकम निकासा नगरेको र बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले तत्काल  रकम दिन नसक्ने अवस्था भएकाले कोरोना बीमा दाबी भुक्तानी रोकिएको छ ।” 

गतवर्ष सरकारले निकासा गरेको एक अर्ब तथा बीमा प्राधिकरण र बीमा कम्पनीले ८१ करोड थप गरी करिब १४ हजारलाई भुक्तानी दिएको उहाँले बताउनुभयो । उक्त समयमा पुनर्बीमा कम्पनीले भुक्तानी दिएको थिएन । 

उहाँले भन्नुभयो, “गत मङ्सिरमा सरकारले निकासा गरेको एक अर्बमा बीमा प्रधिकरण र बीमा कम्पनीले ८१ करोड थप गरी करिब १४ हजार दाबीकर्तालाई वितरण गरेका हौँ । यसपछि वितरण रोकिएको छ ।” 

कुल १७ लाख ५८ हजार ३४३ जना बीमितले कारोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ जना बीमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो ।

अर्थ मन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मार्गदर्शन अनुसार सुरुको तीन अर्ब ५० करोड रुपियाँसम्मको दाबी भुक्तानी बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा प्राधिकरणले गर्ने उल्लेख छ । त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सोही अनुसार बीमा कम्पनीहरुले ३ अर्ब ५० करोडसम्मको दाबी भुक्तानी गरेर पनि थप १ अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपियाँ बराबरको दाबी भुक्तानी बीमा कम्पनीले गरेका थिए । तर नेपाल सरकारले कोरोना बीमा वापतको रकम निकासा नगर्दा बीमा कम्पनीले दाबी भुक्तानी रोकेका थिए ।

 अव सरकारले रकम निकासा नगरेसम्म बीमाबापतको रकम भुक्तानी गर्न सकिने कुनै आधार नरहेको उहाँको भनाइ छ । अब एक लाखको हाराहारीमा बीमितलाई भुक्तानी दिन बाँकी रहेको अधिकारी बताउनुहुन्छ । करिब १० अर्ब भुक्तानी सरकारको दायित्वमा रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब तिर्न बाँकी १० अर्ब सबै सरकारको दायित्वमा छ । सरकारले रकम निकासा नगरेसम्म भुक्तानी गर्न सकिने कुनै आधार छैन । ”

प्राधिकरणले यो समस्या समाधानका लागि बजेटमा नै कोरोना बीमा भुक्तानीलाई समेट्न आग्रह गरिएको भए पनि बजेटमा यो कुरा समावेश नहुँदा बाँकीले कहिलेसम्म भुक्तानी पाउँछन् यकिन नभएको उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “यस बर्ष बजेटमा नै कोरोना बीमा भुक्तानीलाई समावेश गर्न सुझाव  दिएका थियौँ । तर समावेश भएन । बाँकीले कहिलेसम्म भुक्तानी पाउँछन् यकिन छैन ।” गतसाल पनि सरकारले बजेटमा समावेश  नै नगरेको भए पनि अन्यत्रबाट स्रोतको व्यवस्थापन गरेर एक अर्ब निकासा गरेको थियो । 

कारोना बीमा भुक्तानी समयमै गर्न नसक्दा बीमा बजारमै नकारत्मक प्रभाव पर्ने भएकाले यसलाई व्यवस्थापन गर्न सरकारलाई बारम्बार आग्रह गरिएको अधिकारीको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।