• १२ मंसिर २०८१, बुधबार

एसइईमा ‘ए प्लस’ ग्रेड ल्याउने शून्य

blog

गोकर्ण दयाल

बैतडी, असार २६ गते  । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा बैतडी जिल्लाका विभिन्न विद्यालयको नतिजा सुदूरपश्चिम प्रदेशकै कमजोर देखिएको छ। एसइईमा सहभागी १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ‘ए प्लस’ ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ।

एसइईको नतिजा अनुसार पाँच हजार ३३८ जना विद्यार्थीमध्ये कसैले पनि ‘ए प्लस’ ल्याउन सकेनन्। जिल्लाभर ‘ए’ ल्याउने ३४ जना, ‘बी प्लस’ ल्याउने १७२ जना र ‘बी’ ल्याउने ६४७, ‘सी प्लस’ ग्रेड ल्याउने एक हजार ५०६ जना  छन्। 

एसइई दिएका पाँच हजार विद्यार्थीमध्ये तीन हजार ६०४ जना विद्यार्थीले गणित विषयमा ‘ई’ ग्रेड (२० अङ्कमुनि) ल्याएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रुमख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। चार नगरपालिका र छ गाउँपालिका रहेको यस जिल्लामा स्थानीय तहमा १३३ वटा माध्यमिक विद्यालय र ४२९ आधारभूत (कक्षा १ देखि ८) विद्यालय गरेर ५६२ विद्यालय छन्। यी विद्यालयमा सङ्घ सरकारबाट तलब खानेहरू दुई हजार २०९ वटा तालिमप्राप्त शिक्षक छन्। शिक्षकको तलबमा मात्रै वार्षिक आठ अर्ब १२ करोड २४ लाख रुपियाँभन्दा बढी खर्च हुने गरेको छ। यसबाहेक पालिकाबाट शिक्षक भर्ना गरी थप तलबभत्ताका लागि शिक्षाको बजेट खर्च हुने गरेको छ। 

विद्यालयहरूका सुविधासम्पन्न भवन, दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, प्याड खरिद, शैक्षिक तालिमलगायतका विषयमा हुने अन्य खर्च हेर्दा एसइईको नतिजाले निराश बनाएको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले बताउनुभयो।  

उहाँका अनुसार १३३ वटा माविको एसइई दिने पाँच हजार विद्यार्थीमध्ये एक हजार ३३७ जनाले मात्र गणितलगायत सबै विषयमा ‘डी प्लस’ ग्रेड ल्याएका छन्। तीन हजार ६०४ जनाले गणितमा ‘इ’ ल्याएका छन्। 

“१३३ वटा माविमध्ये पाँच पालिकाका १९ वटा विद्यालयले गणितलगायत सबै विषयमा ‘ई’ ग्रेड ल्याएर एसइई नजिता शून्य बनाएका छन्,” उहाँले भन्नुभयो, “यो निकै दुःखको कुरा हो। स्थानीय तहले गम्भीर समीक्षा गर्ने बेला आएको छ।” 

माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी पाएका स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान नदिएको नागरिक समाज बैतडीका अध्यक्ष प्रकाश चन्दले बताउनुभयो। 

स्थानीय तह अनुसार सुर्नया गाउँपालिकाबाट एसइईमा सहभागी ३६४ विद्यार्थीमध्ये ४९ जनाले मात्रै गणित लगायतका सबै विषयमा ‘डी प्लस’  (३० देखि ४० नम्बर)  पाएका छन्। 

दशरथचन्द नगरपालिकाका ५७१ विद्यार्थीमध्ये १४८, पाटन नगरपालिकाका ५७८ मध्ये १९२, मेलौली नगरपालिकाका ५४६ मध्ये ५३, दोगडाकेदार गाउँपालिकाका ४२१ मध्ये १५५, सिगास गाउँपालिकाका ४११ मध्ये १४७, शिवनाथ गाउँपालिकाका ३२३ मध्ये १२, पञ्चेश्वर गाउँपालिकाका ४०० मध्ये ६०, डिलासैनी गाउँपालिकाका ५४१ मध्ये २२७ र पुर्चाैडी नगरपालिकाका ८६३ मध्ये ३४७ जना विद्यार्थीले ‘डी प्लस’ नतिजा प्राप्त गरेका छन्। 

गणितका दुई शिक्षक, नतिजा शून्य  

बैतडीका १३३ वटा माध्यमिक विद्यालयमा विषयगत शिक्षकको दरबन्दी पूरा भए पनि गणितको नजिता निराशाजनक आएको शिक्षा समन्वय एकाइ प्रमुख अवस्थीले बताउनुभयो।  सदरमुकामको वीरेन्द्र माध्यमिक विद्यालयमा गणित पढाउने दुई/दुई शिक्षक भए पनि ९९ जना परीक्षार्थीमध्ये ८१ जनाले २० अङ्कभन्दा बढी ल्याउन सकेनन्। एसइई परीक्षामा औसत १.६ जिपिए ल्याउने विद्यार्थीले साधारण विषय पढ्न पाउने भए पनि लोक सेवा आयोगमा खरिदारको परीक्षा दिन नपाउने अवस्थीले बताउनुभयो। 

नमुना विद्यालयको कमजोर नतिजा 

नेपाल सरकारले नमुना विद्यालय घोषणा गरी वार्षिक एक करोड रुपियाँका दरले अनुदान दिँदै आएको मणिलेक मावि, मेलौली र ज्ञानेश्वर मावि, खोड्पेको एसइई नतिजा निकै कमजोर देखिएको छ। 

मणिलेक माविबाट एसइईमा सहभागी १२५ विद्यार्थीमध्ये १११ जना परीक्षार्थीले ‘डी प्लस’ ल्याउन सकेनन्। नमुना माविका रूपमा चिनिएको ज्ञानेश्वर माविबाट एसइईमा सहभागी ५४ जनामध्ये ४६ परीक्षार्थीले ‘डी प्लस’ ल्याउन सकेनन्। शिक्षक राजनीतिमा, अभिभावक व्यवस्थापन समितिमा अधिकांश शिक्षक विभिन्न राजनीतिक दलको सक्रिय कार्यकर्ताका रूपमा खटिँदा  शैक्षिक अवस्था कमजोर हुँदै गएको नागरिक समाजका अध्यक्ष गणेश ठकुराठीले बताउनुभयो।

“यहाँका शिक्षक खुलेआम राजनीतिक दलको झन्डा बोकेरै कार्यकर्ताका रूपमा सक्रिय छन्,” उहाँले भन्नुभयो, “पार्टी कार्यालय र नेताको निवास वरिपरि घुम्न व्यस्त शिक्षकलाई पठनपाठनको मतलब छैन।” 

त्यस्तै अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्न मरिहत्ते गर्छन तर बालबालिकाको पठनपाठनमा चासो दिँदैन्न। नागरिक अगुवा डा. केदारचन्द्र भट्ट विचार बोक्न पाउने अधिकार भए पनि राज्यको तलबभत्ता खाएर पार्टीको जिम्मेवार पदमा बस्ने शिक्षकलाई कारबाही हुनुपर्ने बताउनुहुन्छ।