रेखीराम राना
पाल्पा, असार २६ गते । केही वर्षअघिसम्म परम्परागत रूपमा बाख्रापालन गरिरहेका किसानले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका छन् । तीन वर्षअघिसम्म घरमा १०/१५ वटा मात्र बाख्रा पालिरहेका किसानले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेपछि एउटै घरमा ७० वटासम्म बाख्रा पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट जिल्लाको पूर्वखोला–२, जल्पा मैदानका किसानलाई बाख्रापालन व्यावसायिक बनाउन सहयोग पुगेको हो । पहिले घरमै १०/१२ वटा बाख्रा पाल्ने मैदानका हुमबहादुर हिस्कीको खोरमा अहिले ४१ वटा बाख्रा छन् । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि आफूले तेब्बर बढी बाख्रा पालेको र यसले बिस्तारै फाइदा दिन थालेको हिस्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले घरमै पूजा तथा चाडपर्वमा मासुका लागि प्रयोग हुने बाख्रा पालेको थिएँ, अहिले मेरो खोरमा माउ बाख्रा मात्रै २० वटा छन् ।” माउ, बोका, खसी, पाठापाठी गरेर अहिले ४० बढी बाख्रा छन् । बाख्राको सङ्ख्या बढेपछि बाहिर समूहमा बिक्री गरेर आम्दानी पनि बढेको उहाँले बताउनुभयो । हिस्की मात्र होइन, मैदानका ५० घरधुरी अहिले व्यावसायिक बाख्रापालनमा लागेका छन् । उनीहरूको घरमा अहिले न्यूनतम १० वटा माउ बाख्रासहित खसी, बोका, पाठापाठी हुर्किएका छन् ।
समूहमा पाएको तालिम, सल्लाह र सुझावका आधारमा खोर परिवर्तन गरेपछि अहिले खरी जातका बाख्रा हटाएर उन्नत जातको बाख्रापालन गरेको स्थानीय ललीसरा ठाडाले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघिदेखि सुरु गरेको स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत यहाँका किसानले पालेका बाख्राको नस्ल सुधार, पशु आहारमा सुधार, घाँस तथा औषधी उपचारमा सहजता आएको छ ।
यस्तै बाख्राको खोर सुधार तथा बाख्रापालन गर्ने किसानको सामूहिकतामा सुधार आएको भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । प्रदेश सरकारले स्मार्ट कृषि गाउँ स्थापनाका लागि यहाँको कृषक समूहलाई पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष २० लाख र यो वर्ष २१ लाख उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
यस्तै पूर्वखोला गाउँपालिका र किसानले समेत लगानी गरेको मैदान स्मार्ट कृषि गाउँ कार्यक्रममा अध्यक्ष चन्द्रीसरा रखालले बताउनुभयो । स्मार्ट कृषि गाउँ कार्यक्रमले गाउँबाट वार्षिक सात सयभन्दा बढी खसीबोका बाहिर बिक्री भइरहेको अध्यक्ष रखालले बताउनुभयो । लुम्बिनी प्रदेश सरकार, स्थानीय तह र किसानको संयुक्त लगानीमा पाल्पाको चार स्थानमा स्मार्ट कृषि कार्यक्रम भइरहेको छ । स्मार्ट कृषि कार्यक्रमले गरिबी निवारण, पशु तथा कृषि क्षेत्रमा व्यावसायिकता, उत्पादनमा वृद्धि गर्न सहयोग पुगेको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताउनुभयो ।