गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आग्रह गर्नुभएको छ ।
आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले सो आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहाललाई संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न उहाँको सुझाव छ । आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकमाथि असार २५ गतेको बैठकमा छलफल हुने पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
त्यस्तै, सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिनका लागि पूर्व निर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरिएको पनि उहाँले बताउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक असार २५ गते सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने उहाँले जानकारी गराउनुभयो ।