• १३ मंसिर २०८१, बिहिबार

शाह वंशको कुल मन्दिरमा महिलाले मात्रै पाउँछन् प्रवेश

blog

वालिङ समाचारदाता

वालिङ, असार २४ गते ।  स्याङ्जाको कालीगण्डकी–३ मा अवस्थित आलमदेवी मन्दिरमा पहिलेदेखि चलिआएको कुनै चलन पनि परिवर्तन भएको छैन। पूजा व्यवस्थापन समितिले कुनै पनि नियम परिवर्तन नभएको जनाएको हो। आलमदेवी मन्दिर सबै महिलाका लागि पनि खुला रहेको भन्ने समाचार बाहिर आएपछि पूजा व्यवस्थापन समितिले यस्तो जानकारी गराएको हो। 

समितिका अध्यक्ष पृथ थापाले भन्नुभयो, “मन्दिरमा पहिलेदेखिको चलन र नियममा कुनै परिवर्तन गरिएको छैन।” शाह वंशीय महिलाहरू भने मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गर्न पाउने चलन रहेको थापाले बताउनुभयो। शाह वंशीय कुलदेवीको मन्दिर आफूहरूले संरक्षण गरिदिएको हो। यो उहाँहरूकै इतिहास हो। त्यसैले सबै महिलाले मन्दिरमा प्रवेश पाउँदैनन्। पहिलेदेखि नै यस्तो प्रचलन रहेको छ। त्यो अहिले पनि कायम रहेको र यसमा परिवर्तन नभएको उहाँको भनाइ छ। 

आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको मानिन्छ। यस मन्दिरमा शक्ति पीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता रहेको उल्लेख गर्दै थापाले परम्परालाई सबैले मान्नुपर्ने स्पष्ट पार्नुभयो। 

शाह वंशको कुल मन्दिरका रूपमा परिचित यस आलमदेवी मन्दिरमा दैनिक सयौँ तिर्थ यात्री पुग्ने गर्छन् भने दसैँको समयमा विशेष पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ। यहाँ वर माग्न, भाकल गर्न र पूजा गर्न नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत भक्तजन र दर्शनार्थीहरू आउने गर्छन्। जीवनमा ठुलो सङ्कट आइलागेपछि वा आउने सम्भावना देखेपछि यहाँ आएर आलमदेवीसँग वर मागेपछि सङ्कट मोचन हुने जनविश्वास रहिआएको छ। 

भारतको चितौरगढका चन्द्र वंशावली भट्टारक राजा ऋषि राणाजीको राज्यमा मुगलले आक्रमण गरेपछि पूर्वतिर गए कुल र सन्तान सुरक्षित हुन्छन् भन्ने सल्लाहका आधारमा राजपरिवार पश्चिम नेपाल हुँदै स्याङ्जाको आलमदेवीको अग्लो डाँडोमा आएका मान्यता छ। उक्त डाँडोमा मन्दिर बनाएर उनीहरूले मूर्ति राखेका थिए। पछि उक्त मूर्ति अलाप भएको हुँदा कालान्तरमा आलमदेवी नमाकरण भएको मानिन्छ। 

भारतीय ऋषि राणाका छोराहरू मिन्चा खाण र खान्चा खाणमध्ये एक जनाले स्याङ्जाको नुवाकोटमा र अर्काले कास्कीकोट, तनहुँ हुँदै गोर्खासम्म राजा भएर राज्य गरेको र तिनै खाणले पछि थर परिवर्तन गरी शाह लेखाउन थालेको किंवदन्ती छ। 

हाल नेपालको शाह वंश तिनै चितौरगढका चन्द्र वंशावली भट्टारक राजाका सन्तान भएको वालिङ नगरपालिकाका निवर्तमान् प्रमुख तथा संस्कृतिका अध्येता दिलीपप्रताप खाणले लेखेको पुस्तकमा व्याख्या गरिएको छ। यो मन्दिर दर्शन गर्न बेलाबेलामा पूर्वराजपरिवारका सदस्यहरू पुग्ने गर्दछन्।