• २१ वैशाख २०८१, शुक्रबार

समृद्ध नगरपालिका बनाउनेतर्फ काम भइरहेको छ

blog

रामेछाप जिल्लाको सदरमुकाम हो, मन्थली नगरपालिका। १४ वटा वडा रहेको मन्थली नगरपालिकाले अहिले समृद्ध नगरपालिका बनाउने दीर्घकालीन योजनाका साथ काम गरिरहेको छ। समृद्ध मन्थली नगरपालिका बनाउन भएका कामबारे नेकपा (एमाले) बाट निर्वाचित मन्थली नगरपालिकाका प्रमुख लवकुमार श्रेष्ठसँग गोरखापत्रका नवराज श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ  :  

तपाईंले मन्थली नगरपालिका प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पूरा भइसकेको छ। यो अवधिमा नगरको विकासका लागि के कस्ता काम भए ?

हामीले नगरपालिकाको जिम्मेवारी सम्हालेपछिको पहिलो नगर कार्यपालिकाको बैठकमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्छ भन्ने निर्णय गरेका थियौँ। सोही अनुसार मन्थली नगरपालिका पशु र दुधमा आत्मनिर्भर भई आय आर्जनमा सहयोग पु¥याउँदै समृद्ध र दिगो अर्थतन्त्र हासिल गर्ने दिशामा अगाडि बढेको छ। यस अन्तर्गत भेटेरिनरी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, दुध उत्पादन गर्ने किसानलाई अनुदान, पशु रोग नियन्त्रण, डाले घाँस कार्यक्रम, पशु र कृषि प्रोफाइल तयारी, कृषि यन्त्रमा अनुदानलगायतका कार्यक्रम सञ्चालन भएका छन्। माटो परीक्षण, बिउ, विषादी, मलखादको व्यवस्था गर्ने जस्ता काम भएका छन्। नगरपालिकाले भूउपयोग नीति पनि जारी गरेको छ। विशेष गरी नगरपालिकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिका कार्यक्रम अगाडि बढाएको छ। रोजगारीसँग जोडेर पूर्वाधार विकासको काम सञ्चालन गरिएको छ। 

शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा नगरपालिकाले के कस्ता काम गरिरहेको छ ?

शैक्षिक क्षेत्रको सुधारका लागि नगरपालिकाले विद्यालयमा निरन्तर अनुगमन गर्ने र विद्यालय तथा शैक्षिक क्षेत्र सुधारका लागि शिक्षा क्षेत्रका विज्ञसँग अन्तर्क्रिया पनि गर्ने गरेको छ। समयानुकूल शिक्षामा विकास र गुणस्तरीय शिक्षा प्रदान गर्न आइसिटी व्यवस्थापन, शिक्षक र प्रधानाध्यापकको क्षमता विकासका कार्यक्रम सञ्चालन र विषयगत रोस्टर शिक्षक तयार गरी केही ठाउँमा परीक्षा लिएर त्यसको छलफल अगाडि बढाइएको छ। नगरका ३२ विद्यार्थीलाई विज्ञान विषय अध्ययनको निःशुल्क व्यवस्थालगायतका कार्य गरिएको छ। स्वास्थ्य क्षेत्रमा पनि धेरै काम भएका छन्। नगरपालिकाले दक्ष चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरी १५ शय्याको मन्थली अस्पताल सञ्चालन गरेको छ। अहिले एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, नौ वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र, नौ वटा सहरी स्वास्थ्य केन्द्र र एउटा आयुर्वेद औषधालय गरी २४ वटा स्वास्थ्य संस्थामार्फत सेवा प्रवाह भइरहेको छ। 

जनताका अपेक्षा धेरै छन्, नगरपालिकाको स्रोत र साधन सीमित छ। यो अवस्थामा कसरी काम हुन्छ ?

नगरपालिकासँग स्रोतसाधन सीमित हुँदा जनताको माग अनुसारका सबै काम गर्न सकेका छैनौँ। उपलब्ध स्रोतसाधनलाई प्राथमिकता तोकेर खर्च गरिरहेका छौँ। जनताका केही आवश्यकता र हामीले गरेका वाचा पूरा भएका छन्। अब बाँकी रहेको समय जनताको अपेक्षा र आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्दै जान्छौँ। यसले नगरपालिकाको समृद्धिमा समेत टेवा पुग्ने अपेक्षा हामीले लिएका छौँ। 

सङ्घ र प्रदेश सरकारसँग मन्थली नगरपालिकाको समन्वय कस्तो छ ?

हामी स्वतन्त्र पनि होइनौँ, हामी निर्देशित पनि छैनौँ। यस कारण तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्व हुनु पर्छ भन्ने परिकल्पना गरिएको हो। मन्थली नगरपालिकाको सङ्घीय सरकार र प्रदेश सरकारसँग सुमधुर सम्बन्ध छ। बजेटकै कुरा गर्ने हो भने स्थानीय तहलाई स्वायत्त स्थानीय सरकारका रूपमा जतिसुकै व्याख्या गरे पनि स्रोतसाधनका हिसाबले कमजोर छन्। सङ्घीय र प्रदेश सरकारले अनुदान नदिने हो भने स्थानीय तहले विकास निर्माण मात्रै हैन, प्रशासनिक खर्च धान्न पनि समस्या हुन्छ। विशेष गरी ठूला योजना प्रदेशले गर्ने र समुदायसँग समन्वय र उहाँहरूको भावना समेटेर प्रदेशमा जाने गरी हामीले निरन्तर समन्वय गरिरहेका छौँ। हाम्रो देशको विकास प्रक्रियामा ठूला आयोजना सङ्घीय सरकारले, स्थानीय सरकारको बुताभन्दा बाहिरका काम प्रदेश सरकारले र स्थानीय आवश्यकताको हाम्रो स्रोतबाट गर्नु पर्छ। मन्थली नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग प्रभावकारी समन्वय र सहकार्य गरिरहेको छ। 

नगरपालिका बालमैत्री स्थानीय शासन लागु गर्नेतर्फ अगाडि बढेको छ। अहिले के कस्ता काम भइरहेका छन् ?

विसं २०८१ जेठभित्र मन्थली नगरपालिकामा बालमैत्री स्थानीय शासन लागु हुन्छ। यसका लागि आवश्यक सूचकहरू प्राप्तिका लागि नगरपालिकाले प्रव्रिmयागत रूपमा विभिन्न अभियान सञ्चालन गरिरहेको छ। सबै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेका ५१ वटा सूचक प्राप्तिका लागि काम भइरहेको छ। मन्थली नगरपालिकामा बालमैत्री स्थानीय शासन लागु गरियो भने हामीले कल्पना गरेको समृद्ध नगरको एउटा सपना पूरा हुने छ।