• १५ चैत २०८०, बिहिबार

जग्गा कटानपछि बस्तीमा त्रास

blog

जीवछ यादव

लहान, असार २३ गते  । सिराहा र सप्तरीको सिमाना रहेको बलान नदीको सिराहातर्फ लहान नगरपालिका–२३, तिलेबोना र करैयाको बिचमा कटान तीव्र पारेपछि वरिपरिका स्थानीयवासी त्रसित भएका छन्। दस मिटर अझै पश्चिमतर्फ कटान भएमा उत्तरदक्षिण बग्ने बलान नदी पूर्वपश्चिम बग्ने अवस्था आउने र त्यसले ठुलो धनजनको क्षति हुने भएपछि स्थानीय बासिन्दा त्रसित भएका हुन्। 

तीन दशकदेखि कटान जारी राखेको बलान नदी कटान नियन्त्रणका लागि सरोकारवाला निकायले स्थानीय बासिन्दाको पीडा सुनेर समस्या समाधान नगरेको स्थानीय मुसहरू यादवले बताउनुभयो। तिलोबोना गाउँ हुँदै बलान नदी बग्ने अवस्था आए बस्ती नै उठिबास हुने अवस्था आउने बताउँदै तिलोबोना गाउँका स्थानीय बासिन्दाले निरन्तरको वर्षासँगै नदीमा बाढी आएर कटान तीव्र हुँदा बस्तीमा त्रास बढेको सुनाउनुभयो। 

सुक्खा मौसममा समेत कटान भइरहने यस बलान नदीको कटान नियन्त्रणका लागि तीनै तहका सरकारका जनप्रतिनिधिलाई हारगुहार गरे पनि कतैबाट ठोस समाधानका लागि कुनै पहल नभएको लहान–२३ का वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। उहाँका अनुसार निरन्तर पहल गर्दा प्रदेश सरकारको २५ लाख रुपियाँ आएको छ। त्यस रकमले ७० मिटर तटबन्ध मात्रै निर्माण भइरहेको छ। जब कि सात सय मिटर तटबन्ध निर्माण कार्य भयो भने मात्रै कटान नियन्त्रणमा आउने छ। 

गत वर्ष लहान नगरपालिकाले १५ लाख रुपियाँमा बोरामा बालुवा हालेर गरेको अस्थायी तटबन्ध पहिलो पटक बाढी आउँदा नै बगाएर लगेको स्थानीय अशेश्वर यादवले भन्दै यस वर्षको २५ लाखको तटबन्ध निर्माणले खासै उपलब्धि नहुने अनुभव साट्नुभयो। “प्रदेश सभा सदस्य राजकुमार गुप्ताले संसदीय विकास कोषको तीन करोड बजेटमध्ये एक करोड बलान नदी नियन्त्रणमा लगानी गरी दिएको भए यो विकराल अवस्था आउने थिएन,” स्थानीय प्रयागलाल यादवले गुनासो पोख्नुभयो, “बलान नदी नियन्त्रणलाई प्राथमिकतामा नराखेर प्रत्येक वडामा १३ लाखका दरले वितरण गर्दा बलान नदी नियन्त्रणको समस्या यथावत रह्यो।”

तिलोबोना गाउँका दर्जनौँ किसानका ५५ बिघा उर्वर जमिन बलान नदीले कटान गरेर बालुवामा परिणत गरिदिएको पीडा त छँदै छ अब बस्ती पनि बगाउने खतराले तिलोबोनावासी चिन्तित हुनुहुन्छ। “आकाशमा कालो बादल देखेपछि त्रासले रातभरि सुत्दैनौँ,” स्थानीय ८० वर्षीय घघन यादवले भन्नुभयो, “ठुलो बाढी आयो भने बस्ती नै सखाप हुने खतरा छ।” गत वर्ष सिमरहा–करैया जाने सडकसम्म आइपुग्न २५ मिटर कटान गर्न बाँकी रहँदा नै तिलोबोना गाउँका स्थानीय बासिन्दा चारैतिर हारगुहार गरे पनि सुक्खा समयमा कटान नियन्त्रणका लागि सरोकारवालाहरू कसैले वास्ता नगरेको उहाँले बताउनुभयो।