• २४ वैशाख २०८१, सोमबार

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज

blog

मेलम्ची बजारमा नेपाली सेनाले निर्माण गरेको ‘बेलिब्रिज’ को शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधान सेनापति प्रभुराम शर्माद्वारा संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै ।

केशवराज पौडेल/चित्र मिजार 

सिन्धुपाल्चोक (मेलम्ची), असार २३ गते । सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुव्रmबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो। 

पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै सास्ती बेहोरिरहेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्चीमा निर्माण थालेको छोटो समयमै बेलिब्रिज तयार भएकोमा खुसी व्यक्त गर्नुभयो। नेपाली सेनाले ४० लाख रुपियाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको थियो।

लामो समयदेखि बेलिब्रिज निर्माणमा राजनीतिक दलको आन्तरिक किचलोका कारण दुई वर्षसम्म पुल बन्न सकेको थिएन। नेपाली सेनाले समयमै काम सम्पन्न गर्ने विश्वास बोकेर स्वास्थ्यमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतिलगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि सो पुलको निर्माण समयमै भएको उल्लेख गर्नुभयो। 

नेपाली सेनाले जनतालाई प्राकृतिक विपत्तिका बेला गरेको सहयोगको स्मरण गर्दै उहाँले जनताको चाहना र बर्खाभन्दा अघि बनाउनुपर्ने आवश्यकता भएकाले समयमै काम सम्पन्न गरेकोमा आभार व्यक्त गर्नुभयो। प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले जनताको विश्वासले सदैव जनताको सेवामा लागिरहने बताउनुभयो। नेपाली जनताको सुखदुःखमा सेनाले साथ दिँदै आइरहेको बताउँदै मेलम्ची बेलिब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको उल्लेख गर्नुभयो। उहाँले नेपाली सेना जनताको साझा सम्पत्ति भएको बताउँदै सेनाले सधैँ जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिनुभयो। 

बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले अथक प्रयास र दृढ सङ्कल्पका कारण मेलम्ची बेलिब्रिज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताउनुभयो। 

अघिल्ला दुईवटा बर्खामा दुःख झेलेका स्थानीयले पुल बनेपछि निकै खुसी भएको जनाएका छन्। अघिल्लो बर्खामा पुल नभएपछि खोलाको जँघार तर्न नसकेर आफन्त बितेको समयमा भेट्न जान नपाएका छिरिङ लामाले पुल बनेपछि वारि र पारिको सम्बन्धविच्छेद हुने अवस्थाको अन्त्य भएको बताउनुभयो। दुई वर्षसम्म नबनेको पुल एक महिनामै बन्यो भन्ने सुनेर खुसीले चनौटेदेखि मेलम्ची बजारसम्म पुल हेर्नकै लागि झरेको उहाँले उल्लेख गर्नुभयो। 

त्यसो त बर्खामा पनि यातायात चल्ने पुल बनेको सुनेर मेलम्चीदेखि २७ किलोमिटर टाढादेखि सूर्यबहादुर अधिकारीले हजारौँ जनताको सपना पूरा भएको भन्दै खुसी साट्नुभयो। २०७८ सालदेखि भोगेको समस्या बल्ल आज आएर पूरा भएको भन्दै उहाँले नेपाल सरकारले जनताको पिरमर्का बुझेकोमा धन्यवाद दिनुभयो। अस्तित्व बचाउन सङ्घर्ष गरिरहेको मेलम्ची बजारलाई पुल निर्माणले प्राणवायु दिएको भन्दै उहाँले नदीमा तटबन्ध बनाएर मेलम्ची बजारको अस्तित्व जोगाइदिन सरकारलाई अनुरोध गर्नुभयो। 

मेलम्ची बजारका दमन दुलालले पुल बनेपछि मेलम्ची बजारमा दुई वर्षपछि बिहेघरकै जस्तो चहलपहल बढेको बताउनुभयो। हिजोसम्म सुनसान लाग्ने बजारमा एकै पटक चहलपहल बढ्नुको खास कारण नै पुल रहेको उहाँले सुनाउनुभयो। 

मेलम्चीमा पुल नभएपछि सबैभन्दा धेरै समस्यामा पर्ने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले सिन्धुपाल्चोकका चार वटा स्थानीय तहका जनताले भोग्दै आएको समस्याको समाधान पुल निर्माणले गरेको बताउनुभयो। उहाँले अरू स्थानीय तहसँगै सबैभन्दा धेरै खुसी इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हुने भएकाले २५ महिनादेखिको प्रतीक्षाको घडी बल्ल पूरा भएको उल्लेख गर्नुभयो। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुल निर्माणपछि आर्थिक गतिविधि बढ्ने तथा पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा बढाएको बताउनुभयो।