काठमाडौं, असार २२ गते । राष्ट्रिय सभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी स्थगित गरिएको हो ।
बैठकको सुरुमै बोल्नुहुँदै एमाले सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसद्को गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान लिनुपरेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उहाँलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे जिकिरसमेत गर्नुभयो । देशकै सम्मानित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शिर झुकेको सांसद घिमिरेको दाबी थियो ।
एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गर्नुभएको थियो । तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि सो बैठक स्थगित गर्नुभएको थियो ।