सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, असार २२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिकाको नयाँ निर्मित प्रशासनिक भवन उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवन बिहीबार उद्घाटन गर्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले सबै जनताको अभिभावक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताका आवश्यकताका विषयमा पारदर्शी रूपमा गुणस्तरीय र परिणाममुखी काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानीय तहको प्रशासनिक भवन, स्वास्थ्य भवन, वडा भवनमा जिससले साझेदारीमा बजेट प्रदान गरेको बताउनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले सुविधासम्पन्न भवनबाट गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जिल्ला समन्वय समितिको तीन करोड र बाँकी भोटेकोशी गाउँपालिकाको गरी कुल छ करोड ८४ लाख आठ हजार ३२६ रुपियाँको लागतमा उक्त भवन बनेको जानकारी दिनुभयो । नयाँ भवनबाट गाउँपालिकावासीलाई प्रभावकारी सेवा दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये मेलम्ची, चौतारा, साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा हेलम्बु, पाँचपोखरी थाङपाल, इन्द्रावती, जुगल, बलेफी, लिसङ्खुपाखर, त्रिपुरासुन्दरी र भोटेकोशी गाउँपालिकाले स्थायी केन्द्र तोकेर आफ्नै प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । सुनकोशी गाउँपालिकाले अहिलेसम्म स्थायी केन्द्र पनि तोक्न सकेको छैन भने भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ । सिन्धुपाल्चोकका १०३ वडामध्ये अधिकांश वडाका आफ्नै भवन निर्माण भएका छन् ।