• १२ मंसिर २०८१, बुधबार

कलेजो बचाउने उपाय

blog

जब म चिकित्सकका रूपमा बिहान वार्डमा बिरामीको उपचारमा लाग्छु, बिरामी कोही पेट फुलेर, कोही आँखा पहेँलो र कोही बेहोसी भएर अस्पताल आएको भन्नुहुन्छ। उहाँहरूमध्ये धेरै जसो २५–४५ वर्षका हुनुहुन्छ। धेरै बिरामीका अनुहार सुकेको र पेट फुलेको देखिन्छ। धेरैलाई हामी सोध्ने गर्छौं, तपाईंलाई यस्तो अवस्था कसरी आयो ? बिरामी त्यति खुलेको पाइँदैन। 

हेपाटाइटिस भएको थियो वा कलेजोसम्बन्धी कुनै समस्या थियो भनेर सोध्छौँ तर उत्तर आउँदैन। रक्सी वा अल्कोहल त लिनु हुन्थेन नि भनेर सोध्छौँ। करबलले लाज मानीमानी भन्छन्, अलि अलि लिने गर्थें तर अहिले छोडिसकेँ। हामीकोमा उपचार गर्न आउने धेरै बिरामी कलेजो धेरै बिग्रिसकेको अवस्थामा आउनु हुन्छ। धेरै जसोको कलेजो कडा भइसकेको हुन्छ। जसलाई हामी सिरोसिस भन्छौँ। यो अवस्थामा करिब ७० प्रतिशत कलेजो बिग्रिसकेको हुन्छ। धेरै जसो बिरामीलाई कलेजो फेर्नुपर्ने हुन्छ अन्यथा दुई–तीन वर्ष पनि बचाउन गाह्रो पर्छ। 

हाम्रो जस्तो विकासशील देशमा गरिखाने उमेरका नागरिक रक्सी वा अल्कोहलको कारणले कलेजो खराब भएर अशक्त भई मृत्युवरण गर्नुपर्ने अवस्था आफैँमा गम्भीर हो। खास गरी हामीले सेवन गर्ने अल्कोहलले शरीरको कलेजो, मुटु, मस्तिष्क, आन्द्रा, खाना नली आदिलाई असर गर्दछ। मानिसको कलेजो, शरीरको दाहिनेतिर फोक्सोको तलतिर रहेको कमलो अङ हो। स्वस्थ मानिसमा यसको वजन १.५ केजी हुन्छ। कलेजो शरीरको महìवपूर्ण अङ्गमध्येको हो। वैज्ञानिकका अनुसार यसले मानिसलाई आवश्यक पर्ने पाँच हजारभन्दा बढी काम गर्दछ। हामीले सेवन गरेको अल्कोहल  एल्दिहिड भन्ने रसायनमा परिवर्तन हुन्छ। यसले सुरुमा कलेजोमा सङ्क्रमण गर्छ र सुनिन थाल्छ। 

रक्सी सेवन निरन्तर भएमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा कलेजो पूरै बिग्रिने अवस्था आउँछ; जसलाई हामी सिरोसिस भन्छौँ। मानिसको अङ्गमध्ये मस्तिष्क फेल, हर्ट एट्याक, मिर्गौला फेल हुने अवस्थाभन्दा पनि लिबर फेल भयो भने बिरामी मर्ने सम्भावना बढी हुन्छ। अनुसन्धानबाट यो कुरा प्रमाणित भएको छ कि छोटो समयमा हुने लिबर फेलरमा बिरामी मर्ने सम्भावना करिब ५० प्रतिशतको नजिक छ। हाम्रो अनुभव योभन्दा पनि खराब छ, हामीकोमा प्रत्येक १० बिरामीमा आठ जनाको मृत्यु भएको नमिठो अनुभव छ। त्यसैले मानिसमा कलेजो रोगसम्बन्धी ज्ञान बढाउनु पर्छ। 

संसारका करिब ६०–७० प्रतिशत मानिसले कुनै न कुनै रूपले अल्कोहल सेवन गरेको विश्वास गरिन्छ। तीमध्ये करिब २० प्रतिशतले नियमित अल्कोहल सेवन गर्छन्। सामान्य रूपले भन्दा अल्कोहलले कलेजोलाई फत्ती लिबर, अल्कोहलिक हेपाटाइटिस, सिरोसिस र क्यान्सर गरी चार प्रकारले असर गर्न सक्छ। फत्ती लिबर सुरुको अवस्था हो। रक्सी सेवन पूर्ण रूपले छोडेमा कलेजो सामान्य रूपमा फर्किन्छ। म त बिरामीलाई सुध्रिने र लामो जीवन बाँच्न पाउने स्वर्णिम अवसरका रूपमा बुझ्न अनुरोध गर्छु। 

यो अवस्था सामान्यतया भिडियो एक्सरे गर्दा पत्ता लग्ने गर्छ। जब बिरामी दोस्रो अवस्थामा अथवा अल्कोहलिक हेपाटाइटिसमा पुग्छ, बिरामीलाई जन्डिस देखिने, खाना मन नलाग्ने, दाहिने कोख दुख्ने, हल्का ज्वरो आउने र कमजोर हुने गर्छ। चिकित्सक यसलाई दुई समूहमा वर्गीकरण गर्छन्। पहिलो समूहलाई काम खतरायुक्त अल्कोहलिक हेपाटाइटिस भनिन्छ, जसमा जन्डिस कम हुन्छ र रगत पातलो हुँदैन। यस्ता बिरामीले रक्सी पूर्ण रूपले छोडेमा कलेजो नर्मल पनि हुन सक्छ। यो बिरामी सुध्रिने राम्रो अवसर हो। 

दोस्रो समूहलाई हामी सिवियर अल्कोहलिक हेपाटाइटिस भन्छौँ। यो अवस्थामा जन्डिस बढी र रगत पनि पातलो हुन्छ। राम्रोसँग उपचार नगरेमा करिब ५० प्रतिशत बिरामीको मृत्यु हुने गर्छ। यस्ता बिरामीले रक्सी पूर्ण रूपले छोड्नु पर्छ। जब बिरामीले लामो समयसम्म, करिब १० वर्षभन्दा बढी धेरै मात्रामा रक्सी सेवन गर्दछ, लिबर कडा भएर जान्छ। यो अवस्थालाई हामी सिरोसिस भनेर बुझ्छौँ। सिरोसिस पनि सामान्यतया दुई अवस्थामा रहन्छ। आँखा पहेँलो हुनु, पेटमा पानी जम्मा हुनु, रगत बान्ता, बेहोसी हुने, मिर्गौलाले काम नगर्ने अवस्था र अर्को सुरुको अवस्था; जसमा माथिका समस्या हुँदैननन् तर कलेजो कडा भइसकेको हुन्छ। 

जब कलेजोमा यस्तो अवस्था आउँछ, यस्तो अवस्थालाई हामी दीर्घकालीन कलेजोको समस्या सिएलडी भन्छौँ। यो अवस्थामा आएपछि सामान्य जसो कलेजो फेर्नुपर्ने हुन्छ। बिरामीलाई लामो समय बाचाउन सकिँदैन। सिरोसिस भएका बिरामीले रक्सी पूरै छोड्नु पर्छ र नियमित रूपले जाँच गर्नु पर्छ। बेहोसी छ भने दिसा पातलो बनाउने औषधी खानु पर्छ। माछा मासु छोड्नुपर्ने हुन पनि सक्छ। रगत बान्ता गर्ने वा कालो दिसा जाने, रगत कम हुने पनि हुन सक्छ। अल्कोहलको कारणले लामो समय कलेजोको रोग लागेका बिरामीलाई क्यान्सर हुने सम्भावना अधिक हुन्छ। 

कलेजोको क्यान्सर भएमा सुरुको अवस्थामा अपरेसन गरेर, चिरेर फाल्न सकिन्छ। अलि ठुलो आकारको भएमा कलेजो फेर्न पनि सकिन्छ तर धेरै गम्भीर भएमा यसको उपचार सम्भव छैन। पङ्क्तिकार आफैँले कलेजो रोगको बारेमा छ वटा अध्ययन गरेको छ। सबै अध्ययनमा कलेजोको दीघकालीन रोगको मुख्य कारण अल्कोहल नै देखियो। अध्ययनमा नेपालीलाई कम उमेरमै कलेजोको गम्भीर रोग सिरोसिस देखियो अरू २५ देशको तुलनामा। यो रोग लागेका बिरामीको बाँच्ने अवधि पनि कम पाइयो। 

समयमा सचेत हुन नसकेमा देश विकासमा लाग्नुपर्ने जनशक्ति देशको भार बन्न सक्ने अवस्था आइसकेको छ। अल्कोहल र योसँग सम्बन्धित समस्या कसरी समाधान गर्ने हो ? सोच्ने बेला भइसकेको छ। मानिसले अल्कोहल होइन, अल्कोहलले मानिसलाई खाइरहेको छ। मानिस रक्सीमा यति डुबेको भेटिन्छ कि शरीरको कुनै वास्तै छैन। जब मानिसलाई अल्कोहलको नराम्रो असर देखिन्छ, प्रायः ढिलो भइसकेको हुन्छ। मृत्यु वा कलेजो फेर्ने विकल्प मात्रै रहन्छ। 

जन्डिस लागेको बिरामीले मुख बारेको, उसिनेको खानेकुरा खाएको, कोही कोहीले त गाईको मूत्रसम्म सेवन गरेको पाइएको छ। धेरै बिरामीले आफ्नै तरिकाले वैज्ञानिक आधारबिनाका जडीबुटी, औषधी खाएको पनि भेटिन्छ। डाक्टरको विचार भिन्न छ। कलेजोको रोगीले सामान्य अवस्थामा भन्दा बढी पौस्टिक आहार खानु पर्छ। अल्कोहोलिक हेपाटाइटिसका बिरामीलाई त हामी सामान्य अवस्थामा भन्दा दुई गुना बढी खानेकुरा खान सल्लाह दिन्छौँ। माछा मासु, फलफूल बिरामीको चाहना अनुसार खान सकिन्छ । बेसार, नुन, तेल मज्जाले खान सकिन्छ र खानु नै पर्छ। 

धेरै जसो मानिसमा जन्डिस रोगको डाक्टरी उपचार छैन भनेर बिरामी अल्मलिएको अवस्था छ। यो रोगसँग राम्रोसँग ज्ञान नभएका मानिसकोमा उपचार गर्न गएर रोगलाई अझै बल्झाउनेहरूको सङ्ख्या पनि धेरै छ। यस्तो भ्रमबाट बिरामी मुक्त हुनु पर्छ। हरेक कलेजो रोगको डाक्टरी उपचार सम्भव छ। हामीले पूरै सफलताका साथ उपचार गरिरहेका छौँ। यसै गरी नदुख्ने र निद्रा लगाउने औषधी सेवन गर्दा डाक्टरको सल्लाह लिनु पर्छ। साधारण व्यायाम, हिँडडुल गर्नु शरीरका लागि राम्रै हुन्छ। बेहोसी हुने, कालो दिसा जाने, रगत बान्ता हुने, पेट दुख्ने, ज्वरो आउने भएमा तुरुन्त नजिकको चिकित्सकसँग परामर्श लिनु पर्छ। 

कलेजो रोगको डाक्टरी उपचार छैन, आयुर्वेदिक, जडीबुटी वा धामीझाँव्रmीले ठिक पार्छन् भन्ने भ्रम छ। यथार्थ ठिक त्यसको उल्टो छ। समयमा डाक्टरकोमा आएमा कलेजो रोगको उपचार पूर्ण रूपले गर्न सकिन्छ। आयुर्वेदिक वा जडीबुटी सेवनले कलेजो झनै बिग्रिने वा कामै नलाग्ने हुन सक्छ। कलेजोको बिरामीले मुख बार्नु पर्छ, नुन, तेल, बेसर, माछा मासु खान हुँदैन, उसिनेको वा जाउलो खानु पर्छ भन्ने भ्रम छ। वास्तविकता यसको उल्टो छ। 

कलेजोको बिरामीले मुख बार्ने होइन, सामान्य अवस्थाको बेलाभन्दा बढी खानेकुरा खानु पर्छ। नुन, तेल, बेसर, माछा मासु मज्जाले खानु पर्छ। सिरोसिस भएर बेहोसी भएमा मात्र डाक्टरको परामर्शमा माछा मासु कम गर्नु पर्छ। कलेजोका बिरामीले गाँजर, मुला, उखु खानु पर्छ भन्ने भ्रम छ तर त्यसो होइन, कलेजोका बिरामीले शक्ति दिने, प्रोटिन भएका खानेकुरा माछा मासु, दल भात, तरकारी र फलफूल खानु पर्छ। गाँजर, मुला र उखुले पेट त भरिन्छ तर शरीरलाई चाहिने क्यालोरी प्राप्त हुँदैन।

लेखक वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ हुनुहुन्छ। 

   

Author

डा. विकास जैसी