• १५ मंसिर २०८१, शनिबार

सरकारलाई सभामुखको निर्देशन

blog

राममणि दाहाल 

हेटौँडा, असार २० गते । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शून्य र विशेष समयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ। बागमती प्रदेश सभा बैठकको विशेष समय र शून्य समयमा प्रदेश सभा सदस्यले राखेका प्रश्नको जवाफ नदिएकोप्रति सभाका सदस्यले आपत्ति जनाएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। 

दोस्रो कार्यकाल सुरु भए यता बसेको प्रदेश सभाको बैठकमा समयमा उठाएका प्रश्नको जवाफ नदिएको भन्दै विशेष र शून्य समय नै हटाउन प्रदेश सभा सदस्यले माग गरेका छन्। 

प्रदेश सभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा सरकारले जवाफ नदिएकोप्रति सदस्यले आपत्ति जनाएका हुन्। जवाफ नदिने हो भने यसको औचित्य नरहेको भन्दै हटाउन माग गरेका हुन्।  

सभामुख पाठकले बैठकको शून्य समयमा बोल्न समय माग गर्ने प्रदेश सभा सदस्यलाई बोल्न दिनुपूर्व नै प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले विशेष र शून्य समयमा आफ्ना थुप्रै जिज्ञासा राखे पनि सरकारले अहिलेसम्म जवाफ नदिएको बताउनुभयो। सभामुखले भन्नुभयो, “माननीय प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले उठाएको प्रश्नमा म माननीय मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँछु।”

उहाँले यसअघि विशेष र शून्य समयमा राखेका प्रश्नको प्रदेश सरकारले जवाफ दिएपछि मात्र शून्य समय अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। त्यसलगत्तै प्रदेश सभाका सदस्य केशवप्रसाद पोखरेलले अघिल्ला बैठकमा प्रदेश सभा सदस्यले जिल्ला,  क्षेत्र,  समसामयिक विषय, बाढीपहिरो र धनजनका बारेमा प्रश्न उठाएको महिनौँ बिते पनि सरकारले आजसम्म जवाफ नदिएको बताउनुभयो। 

उहाँले आक्रोशित हुँदै भन्नुभयो, “सरकार उदासिन हुँदै जाने, माननीयज्यूले प्रश्न उठाउँदै जाने हो भने यो शून्य समय हटाउनुपर्छ। शून्य समयको काम छैन। माननीयलाई किन समय दिइयो। विशेष र शून्य समय भनेको पहिरो गएर धनजनको क्षति हुँदै छ सरकारले बेलैमा समस्या समाधान गर्दैन र महिनौँ प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिँदैन।” 

प्रदेश सभा नियमावलीको नियम ५७ मा विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था छ। उहाँले प्रश्न गर्नुभयो, “नियममा भएको कुरालाई पनि उल्लङ्घन गर्दै जाने हो भने हामी यो बैठक किन चलाउँछौँ, शून्य समयको आवश्यकता किन प-यो ?” उहाँले यो जवाफ नआएसम्म शून्य समयको विषय अगाडि नबढाउन सभामुखसँग माग गर्नु भएपछि सभामुखले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो। 

बिचौलिया रोक्न ध्यानाकर्षण 

शून्य समयमा बोल्दै प्रदेश सभाका सदस्यले धान खेतीको समयमा रासायनिक मलको अभाव रहेको र बिचौलियाका कारण कालोबजारी मौलाएको भन्दै यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराइएको छ। प्रदेशभर खेतीपातीको समयमा गाईबस्तुमा लम्पी स्किन रोगको महामारी फैलिएको र प्रदेश सरकारको लम्पी स्किन रोग नियन्त्रणमा भूमिका नदेखिएको भन्दै खोप उपलब्ध गराउन पनि ध्यानाकर्षण गराइएको छ।  

प्रदेश सभा सदस्यले दुधको अनुदान हटाउन, खानेपानीको समस्या, जग्गा पुर्जा नपाएको, बाढीपहिरो पीडितलाई राहतलगायतका समस्याका बारेमा प्रदेश सभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए। 

शून्य समयमा प्रदेश सभा सदस्य ओमकुमारी श्रेष्ठ, अमनकुमार मास्के, आनन्दकुमार श्रेष्ठ, आशा लामा, ईश्वर सापकोटा, एकालाल श्रेष्ठ, किरण थापा मगर, कृष्णप्रसाद सिलवालले बोल्नुभएको थियो। सदस्य केशवप्रसाद पोखरेल, गीता काफ्ले, जयराम थापा, डा. दिनेशचन्द्र देवकोटा, नुरज वज्राचार्य, प्रकाश श्रेष्ठ, प्रेमभक्त महर्जनले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको थियो। भारतीकुमारी पाठक, मधुकुमार श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, रामकुमार पहाडी, रामेश्वर श्रेष्ठ, सुरेशचन्द्र लामिछाने, रमेशकुमार महत र मधुसूदन पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो। 

यसैबिच प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले विनियोजन विधेयक २०८० छलफलका लागि पेस गर्नुभएको थियो। आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को विभिन्न शीर्षकमाथिको छलफल सुरु भएको छ। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित प्रदेशका ११ वटै मन्त्रालय, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयको एकमुष्ट छलफल सुरु भएको हो।  यस्तै बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महालेखा परीक्षक पाँचौँ वार्षिक प्रतिवेदन २०७९ पेस गर्नुभएको थियो।