केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, असार २० गते । नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगका बिरामीको सङ्ख्या बढेको छ। नसर्ने रोगका बिरामी बढेसँगै सरकारमाथि यो समस्याको निदान कसरी गर्न सकिन्छ भन्ने चुनौती थपिएको छ। काभ्रेपलाञ्चोकका स्थानीय तह यस्ता बिरामीको पहिचान तथा उपचारमा लागेका छन्।
१३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोकका आठवटा स्थानीय तहले नसर्ने रोगका बिरामीको पहिचान, उपचार तथा खोजी गर्ने काम सुरु गरेका हुन्। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले जिल्लाको चौँरीदेउराली भुम्लु, तेमाल, रोसी, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर, नमोबुद्ध र धुलिखेल नगरपालिकाले पालिकाभित्रमा नसर्ने रोगका बिरामीको पहिचान गर्ने काम गरेको बताउनुभयो। उहाँले नसर्ने रोगको पहिचानसँगै निःशुल्क औषधी तथा बिरामीको अवस्था, औषधी सेवनलगायतमा स्थानीय तहले खोजीसमेत गरेको बताउनुभयो। उहाँले सबैभन्दा बढी उच्च रक्तचाप, दीर्घ श्वासप्रश्वास रोग, हृदयघात, मधुमेह र क्यान्सर देखिएको भन्दै स्थानीय तहले नसर्ने रोगका बिरामीको पहिचानका लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो।
डा. सेढार्इंले स्थानीय तहले टोल टोलमा विशेषज्ञ चिकित्सक तथा उपकरण लगेर बिरामीको पहिचानपछि उपचारका लागि पठाउनुपर्ने बिरामीलाई अस्पतालमा सिफारिससमेत गर्ने गरेको बताउनुभयो। नमोबुद्ध नगरपालिकाले यस वर्ष पालिकाभित्रका करिब पाँच हजार जनाको स्वास्थ्य परीक्षण गर्दा १३ प्रतिशतमा उच्च रक्तचाप भएको पाइएको जनाएको छ। नगरपालिकाका अनुसार उच्च रक्तचाप ५९७ जना, मधुमेहका ५१४ जना, पिसाबमा एल्बोमिन (प्रोटिन) बढी भएका करिब छ सय जना पाइएको छ। नगरपालिकाले एक वर्षसम्म उच्च रक्तचाप, मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने र थप परीक्षण गर्नुपर्ने बिरामीलाई मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाएको छ। यस्तै पाँचखाल नगरपालिकाले ३५० जनाको स्वास्थ्य परीक्षण गर्दा ३० प्रतिशत अर्थात् १०३ जनामा उच्च रक्तचाप देखा परेको जनाएको छ।
बेथानचोक गाउँपालिकाले बनेपास्थित शिर मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा ४० वर्षमाथिका नागरिकमा नसर्ने रोगको पहिचान गर्न शिविर सञ्चालन गरिरहेको हो। गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले नसर्ने रोगलगायतका समस्या भए नभएको समयमा नै पहिचान गरी उपचारका सेवा आरम्भ गरिएको बताउनुभयो। त्यस्तै तेमाल गाउँपालिकाले दुई हजार ८१८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५१२ जनामा उच्च रक्तचाप र सय जनामा मधुमेह भेटिएको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले बताउनुभयो। उहाँले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई स्वास्थ्य संस्थामार्फत सरकारले तोकेको निःशुल्क औषधी वितरण सुरु गरिएको बताउनुभयो।
जिल्लामा करिब ५१ हजार २८१ उच्च रक्तचापका बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाले सन् २०२५ सम्म करिब ३० हजार उच्च रक्तचापका बिरामीको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। उच्च रक्तचापका बिरामीको पहिचान तथा उपचार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल (काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर केसकेड इनिसियटिभ) कार्यक्रम सुरु भएको छ।