अमरराज नहर्की
तनहुँ, असार १९ गते । पछाडि परेको समुदायको आयस्तर परिवर्तनको लागि तनहुँमा ‘‘विपन्न बस्तीमा मुख्यमन्त्री’’ कार्यक्रम सञ्चालन गरिएको छ ।
यस कार्यक्रम अन्तर्गत जिल्लाका तीन वडामा पछाडि परेको दुई गाउँलाई छनोट गरी कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम सञ्चालन भएपछि विपन्न परिवारमा खुसीयाली छाएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र तनहुँले सञ्चालन गरेको हो एकीकृत कृषि कार्यक्रम सञ्चालन गरी किसानले उत्पादन बढाएर आय आर्जन मूलक काममा संलग्न गराई गरिबी निवारण टेवा पुर्याउने तथा खाद्य सुरक्षा सुनिश्चितता गर्दै आर्थिक रूपमा सबल बनाउने कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।
बन्दीपुर गाउँपालिका–५ र आँबुखैरेनी गाउँपालिका–१ को भुजेल गाउँका ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ भिरकोटका एक सय घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनभयो ।
भिरकोटमा कार्यक्रम सञ्चालनको लागि सोही ठाउँ स्थित विश्वकर्मा कृषि तथा पशुपन्क्षी कृषक महिला समूहसँग सम्झौता भएको छ । कार्यक्रमको लागि पक्कीप्लाष्टिक घर निर्माण एक, मौरीघार १५, बाख्राको खोर निर्माण सात, ब्याड बोका खरिद दुई, बङ्गुरको खोर निर्माण चार, बङ्गुरको पाठा खरिद, कुखुराको खोर निर्माण तथा चल्ला खरिद, तरकारी र मकैको बिउ वितरण गरिएको छ ।
यसैगरी कृषि औजार उपकरण खरिद, तरकारी फलफूल नर्सरी निर्माण र सिँचाइ व्यवस्थापन आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हाते ट्र्याक्टरलगायत प्रदान गरिएको केन्द्र प्रमुख तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार भुजेल गाउँमा आठ वटा बाख्राको खोर, आठ वटा बोका तथा ३५ वटा मौरीको घार समूह मार्फत खरिद तथा वितरण सम्पन्न भइसकेको छ ।
सिँचाइ व्यवस्थापनको लागि १८ वटा ड्रम, हाते ट्र्याक्टर र कुटानी–पिसनी लगायतका सामग्री प्रदान गरिएको छ । बाख्रा र बङ्गु रपालनका लागि खोर निर्माण गरेपछि एक÷एकवटा उन्नत जातको बाख्रा र बङ्गुरका पाठापाठी वितरण गरिनेछ ।
कार्यक्रमको लागि गण्डकी प्रदेश सरकारबाट २०/२० लाख बजेट गरी दुई गाउँको लागि ४० लाख बजेट निकासा भएको केन्द्र प्रमुख तिवारीले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको ९० प्रतिशत र कृषकको १० प्रतिशत लगानी रहेको तिवारी बताउनुहुन्छ ।
सामाजिक, आर्थिक अवसरहरूको दृष्टिले तुलनात्मक रूपमा पछाडि परेको समुदायलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञानकेन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका अनुसार छनोट गरिएको बस्तीमा कृषि पशुपन्छी तथा अन्य आय मूलक उद्यम र व्यवसायको पहिचान गरी सोही अनुसार काम अघि बढाइएको छ । ती बस्तीमा सडक, सिँचाइ, खानेपानी, आवास लगायतका पूर्वाधार विकासका आवश्यकताहरू पुरा गर्ने कामहरू भइरहेको छ ।
कृषि वा अन्य परम्परागत पेसामा आश्रितहरूको बाहुल्यता भएको वा जीवन निर्वाहका जग्गा जमिन र पेसा व्यवसाय समेत नभएकाहरूको बाहुल्यता रहेको बस्तीलाई प्राथमिकतामा राखेर छनोट गरिएको छ ।
बस्ती छनोटका लागी जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा सात सदस्यीय समिति बनेको छ, त्यही समितिले स्थलगत निरीक्षण गरेर बस्ती छनोट गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रमको लागि आफ्नो गाउँ छनोट भएपछि स्थानीय उत्साहित भएको ऋपिङ ४ भिरकोट स्थित विश्वकर्मा कृषि तथा पशुपन्क्षी कृषक महिला समूहकी सहसचिव मिना घिमिरेले बताउनुभयो । सो गाउँमा एक सय ५० घरधुरी भएपनि विपन्नलाई छनोट गरी एक जनालाई समेटिएको घिमिरेले जानकारी दिनुभयो ।
घर सङ्ख्या धेरै भएकोले २० लाख बजेट अप्राप्त भएको तिवारीले जानकारी दिनुभयो । ‘‘तिवारीले भन्नुभयो, बजेट थोरै तर घर धेरै हुँदा बाख्रा तथा बङ्गुरका पाठापाठी, मौरीघार धेरै प्रदान गर्न सकिएन ।’’ दलित र विपन्न बस्तीमा सानो लगानी अभावमा कृषि उद्यम सञ्चालन गर्न कठिनाइ भएको गुनासो आएपछि छनोट समिति गठन गरी केन्द्रले बस्ती चयन गरेको थियो ।