• १४ पुस २०८१, आइतबार

ललितपुर महानगरले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाको घरमै पुगेर उपचार गर्ने

blog

समझदारीपत्रमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने र नेपाल नेत्र ज्याति संघका अध्यक्ष भरत बहादुर चन्दको हस्ताक्षर ।

ललितपुर, असार १८ गते । ललितपुर महानगरले घर घरमा पुगेर ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुले मुट, मिर्गौला र आँखाको परीक्षणको सुविधा पाउनेछन् । ‘महानगरसँग ज्येष्ठ नागरिक’ नाम दिइएको उक्त कार्यक्रमअन्तर्गत घर घरमा गएर ज्येष्ठ नागरिक र अपाङ्गता भएको स्वास्थ्य परीक्षण गरिन्छ । आधारभूत औषधि निःशुल्क दिइन्छ । ७०  वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर साधारण र विशिष्ठ स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।

स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल हृदय रोग निवारण, र नेपाल नेत्र ज्योति संघ (कीर्तिपुर आँखा अस्पताल)र ललितपुर महानगरबीच समझदारी पत्रमा हस्ताक्षरण भयो । समझदारीपत्रमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने, नेपाल नेत्र ज्याति संघका अध्यक्ष भरत बहादुर चन्दले हस्ताक्षर गर्नुभयो ।

यसैगरी, मिर्गौैला जोगाउने र उपचार गर्ने सम्बन्धमा मेडिसिटी अस्पताल, मिर्गाैला बचाउ अभियान र ललितपुर महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा मेडिसिटीका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट राज राणा, मिर्गौला बचाउँ अभियानका ऋषिराम काफ्ल र महानगर प्रमुख चिरीबाबु महर्जनले त्रिपक्षीय सम्झौता हस्ताक्षर गर्नुभयो । मिर्गौला परीक्षण र मिर्गौलासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने काम मिर्गौला बचाउ अभियान रमेडिसिटी अस्पतालबीचको सहकार्यमा हुनेछ ।

महानगर प्रमुख महर्जनले ज्येष्ठ नागरिकसँग ललितपुर महानगर नयाँ र प्रभावकारी कार्यक्रम भएको बताउनुभयो । महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महानगरको तर्फबाट कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘यो नयाँ कार्यक्रम हो, यो टिमवर्क हो, सहकार्य गरेर अघि बढौं, महानगरबाट कुनै कमी हुन दिदैंनौ ।’’ विज्ञबाट सुझावको समेत अपेक्षा गरेको उहाँले बताउनुभयो ।

नेपाल हृदयरोग प्रतिष्ठानका बलराम न्यौपाने खानपिनलाई ख्याल नगरेको र क्रियाशील जीवनशैली नभएकाले मुटुरोगका रोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘घर घरमा पुगेर मुटुरोग र उच्च रक्तचापको बारेमा बुझाउने र अवस्था थाहा पाउने काम गर्छौ, महानगरसँग निरन्तर यो कार्यक्रममा सहभागी हुन प्रतिबद्ध छौं ।’’ नेपाल नेत्रज्याति संघका अध्यक्ष भरत बहादुर चन्दले स्थानीय तहसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले अहिले पनि ५० भन्दा माथिकालाई उपचार गरिरहेका छौं ,बालबालिका र आर्थिक अवस्था कमजोर भएकालाई पनि निःशुल्क सेवा प्रदान गर्दै आएका छौं ।’’

मिर्गौला बचाउ अभियानका प्रमुख ऋषिकुमार कार्कीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको धन्यवाद दिनुभयो । घर घरमा गएर पिसाब परीक्षण गर्ने र पिसाबमा खराबी भएकालाई उपचारका अस्पतालमा पठाउने उहाँले बताउनुभयो । हरेक व्यक्तिले मिर्गौला स्वस्थ राख्न सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपाल मेडिसिटी अस्पतलका मेडिकल सुपरिटेन्डेन्ट राज राणाले महानगरले यो कार्यक्रम सुरु गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले बिरामीको उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनतर्फ पनि ध्यान दिनु त्यति नै उपयुक्त भएको बताउनुभयो । 

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्थानीय सरकार नागरिकको नजिकको सरकारको अनुभूति गराउन यो कार्यक्रम लागू गर्नुभएको छ । ललितपुर महानगरले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर यो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।