• ३ जेठ २०८१, बिहिबार

गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : डा. शशाङ्क

blog

काठमाडौं, असार १८ गते । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताउनुभएको छ । 

गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्व महामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’’ 

गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशाङ्क भन्नुभयो, ‘‘दोस्रो जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।’’

कोइरालाले रक्तदान जस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले त्रिवि शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण पनि गर्नुभयो । 

रक्तदान भनेको जीवन दान भएको बताउँदै यस्ता सामाजिक काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यहरू सञ्जय गौतम, उर्मिला थपलिया, प्रतिनिधिसभा सदस्य दीपक खड्का र सीता मिजारको सहभागिता थियो ।