• १२ मंसिर २०८१, बुधबार

बैतडीमा नौ हजार हेक्टरमा धान खेती

blog

बैतडी समाचारदाता 

बैतडी, असार १७ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा ७० प्रतिशत खेतमा रोपाइँ भएको छ । यहाँका १० स्थानीय तहको नौ हजार हेक्टर जमिनमा धानखेती हुने गरेको छ । धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ । 

सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । सिँचाइ सुविधा भएको ठाउँमा असार १५ गतेसम्म ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो । 

जेठको अन्तिम सातादेखि रोपाइँ गर्न सुरु गरिएको थियो । पाटन नगरपालिकाको पाटनक्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा, डिलासैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुङ्गाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्रमा दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसँग जोडिएको क्षेत्रलाई धान पकेट क्षेत्र मानिन्छ । 

बैतडीमा पछिल्लो समयमा धान रोपाइँका लागि आधुनिक कृषि उपकरणको प्रयोग गर्ने गरिएको भए पनि धेरै ठाउँमा गोरुले रोपाइँ गर्ने गरिएको छ । यो वर्ष बैतडीमा लम्पी स्किन रोगबाट गोरु मरेपछि परम्परागत रूपमा गोरुले खेत जोतेर रोपाइँ गर्ने किसान समस्यामा परेका हुन् । यहाँ १८ हजार मेट्रिक टन धान उत्पादन हुने गर्छ । धान, गहुँ र मकै मात्र ३६ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । जिल्लालाई वार्षिक ४० हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा अपुग हुने करिब १३ हजार मेट्रिक टन खाद्यान्न निर्यात गर्नुपर्ने अवस्था रहेको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले बताउनुभयो ।

यसैबिच बाजुरा समाचारदाताका अनुसार बाजुराका विभिन्न स्थानीय तहमा २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रमलाई भव्य रूपमा मनाइएको छ ।