• १४ मंसिर २०८१, शुक्रबार

सुनमा विलाशिताको कर लगाइएको छैनः अर्थमन्त्री डा. महत

blog

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत ।

पोखरा, असार १६ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिताको वस्तुमा लाग्ने कर नलगाएको बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

व्यवसायीले सोधेको जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री महतले भन्नुभयो, ‘‘सुनमा लग्जरी ट्याक्स लगाएको छैन। हिरा, मोतीमा हो, लग्जरी ट्याक्स। जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो। थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन।’’ 

त्यस्तै उहाँले ट्राभल्समा भ्याट नलगाएको एयरलाइन्समा मात्र लगाएको बताउनुभएको छ। एयरलाइन्सको फ्लाइटमा त्यो कर लाग्ने उहाँले प्रष्ट पार्नुभयो। नेपालको उत्पादन बढाउन आयात हुने आलु प्याजमा भ्याट लगाएको उहाँले उल्लेख गर्नुभयो। 

‘‘एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ। व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन’’, मन्त्री महतले भन्नुभयो, ‘‘नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको हो। सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ। महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ।’’

काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुनै भन्दै उहाँले पोखराको पर्यटकीय महत्त्व रहेको उल्लेख गर्नुभयो। मन्त्री महतले भन्नुभयो, ‘‘पर्यटकीय सहर पोखरा जस्तो ठाउँमा मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ। यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौं।’’ 

कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति भएको उल्लेख गर्दै उहाँले उद्योग वृद्धि गर्नसमेत सुझाव दिनुभएको छ। उहाँले भन्नुभयो, ‘‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ। उद्योग वाणिज्य क्षेत्रका साथीले सकरात्मक सोचका साथ अगाडि बढ्न जरुरी छ।’’