काठमाडौं, असार १६ गते । त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले हराउन सफल भयो । सेमिफाइनलमा उक्त जोडीले कास्कीका बिधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडीसँग प्रतिस्पर्धा गर्नुहुनेछ । बिधान र लिनथेपको जोडीले नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२, २१–१४ ले हराउँदै अन्तिम चारमा स्थान बनाउनुभएको हो ।
यस्तै एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१९ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।