• १२ असार २०८१, बुधबार

राजनीतिक पार्टीले संसद् प्रभावकारी बनाउने काम गर्नुपर्छ : सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे । तस्बिर : रत्न श्रेष्ठर/रासस

काठमाडौं, असार १६ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीलाई आग्रह गर्नुभएको छ।

संसद् जनअपेक्षा अनुसार चल्न नसकेको आम अनुभूति भइरहेको उल्लेख गर्दै उहाँले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो। ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् जनप्रतिनिधिको सर्वोपरि संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद् क्लबभित्र छलफल गर्नु उपयुक्त हुने धारणासमेत राख्नुभयो।

राष्ट्र र जनताको आवश्यकता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाइ थियो। उहाँले भन्नुभयो, ‘‘मलाई लाग्छ-सांसद प्रभावकारी हुनुपर्छ। यसमा कुनै बहस र विवादको विषय छैन। यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीको भूमिका प्रभावकारी हुन्छ। पार्टीमार्फत नै जनताले विश्वास दिनुभएको छ।’’

सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अङ्गलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो। 

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिला निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने आवश्यकता औँल्याउनुभयो। 

जनसङ्ख्याको आधारमा पनि महिलालगायतका अन्य समुदायको संसदमा समानुपातिक रूपमा प्रतिनिधित्व हुने कुरालाई सुनिश्चित गर्नुपर्ने उपाध्यक्ष अर्यालको भनाइ थियो। उहाँले भन्नुभयो, ‘‘प्रत्यक्ष निर्वाचित भएर आउने महिलाको सङ्ख्या एकदमै कम छ। जनसङ्ख्याको आधारमा महिला ५१ प्रतिशत हुनुहुन्छ। पुरुषको भन्दा नेपालमा महिलाको जनसङ्ख्या बढी छ। त्यो हिसाबले ५०/५० प्रतिशत हुनुपर्ने हो। तर अब हामीले पूर्ण समानुपातिकमा जानुपर्ने हुन्छ। कि प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने हुन्छ।’’ 

उपाध्यक्ष अर्यालले तराई, मधेशमा डोमलगायतका जातिमाथि भएको उत्पीडन कम हुने गरी कानुन, निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।