पोखरा, असार १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनुभएको छ । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
“बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’’
प्रधानमन्त्रीले भ्रष्टाचार देशको विकराल समस्या रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ । थप तीव्रताका साथ अघि बढ्छ ।’’
प्रधानमन्त्रीले प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ र यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जाने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले थप्दै भन्नुभयो, “अर्थतन्त्र धराशायी नै हुन्छ कि भन्ने थियो । तर अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ । यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् । भारतका प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन ।’’
उहाँले भन्नुभयो, “पारवाहन सन्धि पुनरवलोकन पनि महत्त्वपूर्ण निर्णय हो । विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन । यसले विद्युत् व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ । यो आउने पुस्ताले पनि सम्झिरहने काम हो ।’’
यसैगरी, प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउनुभएको छ ।
‘‘छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ ।,’’ उहाँले भन्नुभयो, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हल्लाएर हल्लिँदैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’’
प्रधानमन्त्री प्रचण्डले एयररूटका लागि भारतसँग कुरा भएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउनुभयो । साथै, चीन जाँदा पनि यो विषयमा छलफल हुने जानकारी उहाँले दिनुभयो ।