• २० असोज २०८१, आइतबार

बाढी प्रभावित क्षेत्रका पूर्वाधार निर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन

blog

जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रकाश ज्वाला । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, असार १६ गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असार ३ गतेको बाढीपहिरोले प्रभावित क्षेत्रका पुलसहित पूर्वाधार निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिनुभएको छ ।

बाढी आएको १४ दिन पश्चात् स्थलगत अवलोकन गर्न पाँचथर आइपुग्नुभएका मन्त्री ज्वालाले शनिबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो निर्देशन दिनुभएको हो ।

‘‘पाँचथरका तीनवटा स्थानीय तह र सिङ्गो ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माणमा ढिलाइ हुनु दुःखद हो,’’ मन्त्री ज्वालाले भन्नुभयो । सरकारले सात दिनभित्रै बेलिब्रिज सञ्चालन हुने गरी वातावरण बनाउन बजेट व्यवस्थापनसँगै सहरी डिभिजन इलामलाई निर्देशन दिएको थियो ।

यद्यपि १५ दिन बितिसक्दा जग मात्रै उठेको छ । मन्त्री ज्वालो भन्नुभयो, ‘‘विपदका बेला सडक डिभिजनसहित सबै निकाय तदारुकताका साथ लाग्नुपर्छ, ढिलाइ गर्ने छुट काेही कसैलाई छैन ।’’

कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बाढीका कारण तीन जनाको ज्यान गएको, तीन जना बेपत्ता भएको र करिब तीन करोड कृषि उपजको नोक्सानी भएको भएको जानकारी दिनुभयो । साथै उहाँले १७ वटा पुल र नौ वटा हाइड्रोमा क्षति पुगेको र सात सय सर्वसाधारण प्रभावित भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रियामा सडक विभाग र सडक डिभिजन कार्यालयका प्रमुख र प्राविधिकसँगै जिल्लाबाट निर्वाचित सांसदहरु सहभागी हुनुहुन्थ्यो ।