• १२ असार २०८१, बुधबार

विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो : अध्यक्ष तिमिल्सिना

blog

संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार १६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनलाई सम्बोधन गर्नुुहुँदै  उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौं वर्षसम्म नआउने लगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गर्नुभयो । उहाँले विधेयकहरु बारम्बार शून्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गर्नुभयो ।

‘‘एउटा विधेयक तयार पार्दा समय, लगानी, आर्थिक पक्ष त्यो विधेयकले दिने सेवा कति प्रभावित भएको हुन्छ, लिएर आयो ५/६ वर्षसम्म विधेयक थन्क्याउने, त्यसलाई अघि नबढाउने, एउटा सदनले पास गरेको अर्कोमा लगेर त्यत्तिकै राखेर त्यो शून्यमा जाँदा के हुन्छ ? यस्ता कुरामा औंला ठड्याउनुपर्छ । कुन समितिमा गएर कति समय लाग्यो, विधेयक रोकेको कति भयो ? किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ ।,’’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘सभामुख, अध्यक्ष, मन्त्रीहरुले के गरे भन्नेमा खोजिखोजि नभएको पनि लेख्ने तर विधेयक ल्याएर कहाँ कति रोकियो, किन रोकियो त्यसको सोधीखोजी नगर्ने गर्नुहुँदैन । विधेयक कहाँ कसरी अड्कियो, त्यसको असर के ? त्यसमा नआउने कसरी संसदीय मामिला कस्तो हुन्छ ? यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ । तपाईहरुले यसमा लेख्दा विधेयक छिटो आउँछ । दबाब बढ्छ ।’’

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहेको ढिलासुस्तीमा दबाब दिन सके विधेयकहरु समयमा नै आउने बताउनुभयो ।