यादवराज पुरी
रौतहट, असार १६ गते । रौतहटको मौलापुर नगरपालिका–४ पतौरामामा दुई वर्षीया छोरी र आमा मृत अवस्थामा भेटिएको छ ।
दुई वर्षीया छोरी आरुहीकुमारीको लास पङ्खामा झुन्डिएको अवस्थामा र २४ वर्षीय कवितादेवी साहको घाँटीमा डोरी लगाइएको लास घरबाट बाहिरिने ढोकामुनि फेला परेको हो ।
घटनाको बारेमा प्रहरीलाई शुक्रवार राती तीन बजे जानकारी भएको बताउनुहुँदै रौतहट प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले घटना हत्या वा आत्महत्या के हो त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार मृतक कविता साहकी पती धिरेन्द्र साह प्रहरीको सम्पर्कमा छैनन् भने ससुरा नागेन्द्र साह केही दिन अघि नै घर बाहिर निस्कनुभएको जानकारी छ ।
माधवनारायण नगरपालिका–५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजयशङ्कर साहका अनुसार घटनाबारे आफूलाई स्थानीय लखिन्द्र साहले फोन मार्फत जानकारी गराउनासाथ घटनास्थल पुगे पनि प्रहरीले बिहान सात बजे मात्रै छोरी र नातिनीको लास हेर्न दिएको थियो ।
उहाँले छोरी र ज्वाइँबीच भइरहने विवादलाई आफूले धेरै पटक सम्झाई बुझाई गरी मिलेर बस्न आग्रह गरेको बताउनुभयो । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।