• १३ असोज २०८१, आइतबार

राष्ट्रसङ्घको नेपाल प्रेम

blog

नेपाली सेनालाई मुलुककै जेठो, ऐतिहासिक र गौरवशाली सङ्गठन मानिन्छ। स्थापनाकालीन इतिहासदेखि नै मुलुक रक्षार्थ सैनिक सङ्गठनले निर्वाह गरेको भूमिका सराहनीय छ। पछिल्लो छ दशकदेखि सङ्गठनले विश्व शान्तिमा पु-याएको योगदान अद्वितीय छ। त्यसकै माध्यमबाट नेपालको परराष्ट्र नीतिमा परेको सकारात्मक प्रभावका कारण विश्व शान्ति कायम गर्न स्थापित ‘छाता सङ्गठन’ संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाको उच्च मूल्याङ्कन गरेको छ। शान्ति स्थापनामा सैनिक सङ्ख्या थपको माग त्यसैको उपज हो। मुलुकको परराष्ट्र नीति दरिलो र कसिलो बनाउन नेपाली सेनाले अवलम्बन गरेको कार्यशैली संसारका अन्य मुलुकका लागि उदाहरणीय अभ्यास रहेको ठहर राष्ट्रसङ्घले गरेको छ। यसले सेनाको मनोबल मात्रै नभई मुलुककै प्रतिष्ठा उँचो बनाएको छ। 

राष्ट्रसङ्घीय मुख्यालयको सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा रक्षा मन्त्रालयको अगुवाइ र नेपाली सेनाको समन्वयमा ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ सम्बन्धी केही दिनअघि एउटा अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भयो। उक्त संगोष्ठीमा राष्ट्रसङ्घीय उपमहासचिव अतुल खरे सहभागी भएका थिए। खरेले नेपाली सेनाले विश्व शान्तिमा पु¥याएको योगदानको उच्च प्रशंसा गरे। त्यो प्रशंसा नेपाली सेनाको कर्मले आर्जन गरेको सम्पत्ति हो। विश्व शान्तिको माध्यमबाटै आर्जित त्यो सम्पत्ति सुरक्षामा नेपाली जनता, नेपाल सरकार र सेना सधैँ रक्षाकवच भएर उभिएको देख्दा आफूलाई गौरव लागेको उपमहासचिव खरेको भनाइ थियो। नेपालको दसवर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र अभ्यासमा रहेको लोकतान्त्रिक प्रणाली विश्वकै लागि अनुकरणीय नमुना रहेको धारणा उनले व्यक्त गरे। नेपालको शान्ति प्रक्रियामा मध्यस्थता गरेको राष्ट्रसङ्घले शान्ति प्रक्रियाको बाँकी काम निष्कर्षमा पु-याउन सघाउने इच्छा पनि प्रकट गरेको छ। 

कोभिड महामारीपछि अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक नेपालमा आयोजना भएको उक्त संगोष्ठीको मूल उद्देश्य विश्वमा शान्ति स्थापनार्थ खटिने जनशक्तिले भोग्नु परेका अप्ठेरालाई प्रविधिको प्रयोगमार्फत कसरी सहज बनाउन सकिन्छ भन्ने थियो। द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा खटिएको सैनिकको सुरक्षा चासो पनि सँगसँगै जोडिएको छ। द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा परिचालित नेपाली शान्ति सेनाले नवीनतम सूचना प्रविधिको प्रयोग गरिरहेको छ। शान्ति सेनामा डिजिटल रूपान्तरणका लागि प्रविधिको प्रयोग अझ बढी आवश्यक छ। 

शान्ति स्थापना कार्य प्रभावकारी बनाउन सञ्चार पद्धतिको प्रयोग बढाउन थप गृहकार्य जरुरी छ। यसमा राष्ट्रसङ्घको साथ र सहयोग छँदै छ, नेपाल सरकारको पनि ध्यान जान आवश्यक छ। संगोष्ठीमा विश्वमा भइरहेको सूचना प्रविधिको तीव्र विकास र बदलिँदो सुरक्षा परिस्थिति अनुसार शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती एवं सर्वोत्कृष्ट अभ्यासका बारेमा सदस्य राष्ट्रबिच अनुभव आदानप्रदानसमेत भएको थियो। शान्ति सैनिकले सूचना प्रविधिको क्षेत्रमा प्रयोग गरिरहेको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान गर्न संगोष्ठी फलदायी भएको छ। राष्ट्रसङ्घका लागि शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो तथा धेरै महिला सैनिक पठाउने मुलुकमा पहिलो हो। 

सेनाले राष्ट्रसङ्घीय उपमहासचिव खरेलगायतको राष्ट्रसङ्घीय टोलीलाई नेपालको पहिचान र संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम मात्र देखाएन, पर्यटन प्रवर्धन, भूकम्प र कोभिड महामारीपछि नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको पुष्टि गराउन पनि भूमिका निर्वाह गरेको छ। नेपाललाई शान्त, भरोसायोग्य र पर्यटकका लागि सुरक्षित गन्तव्यका रूपमा चिनाउन सेनाले फैलाएको सन्देशले नेपालको गौरव बढाएको छ। यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

मुलुकका कार्यकारी प्रमुखसँग औपचारिक भेटघाट र वार्तालाप भए पनि उपमहासचिव खरेको भ्रमणले आवश्यक चर्चा भने पाएन। किनकि नेपालको हकमा खरेको भ्रमण निकै फलदायी र उपलब्धिमूलक भएको दाबी नेपाली सेनाको छ। नेपाली शान्ति सेनाले विश्वका कठिन र द्वन्द्वग्रस्त इलाकामा शान्ति स्थापनाका लागि पु-याएको योगदानकै कारण राष्ट्रसङ्घबाट थप सैनिक सङ्ख्याको माग हुनु हाम्रा लागि खुसीको कुरा हो। 

नेपाल राष्ट्रसङ्घको शान्ति स्थापना अभियानमा १० हजार सैनिक उपलब्ध गराउन तयार भएको छ। यसअघि छ हजार सैनिक शान्ति कार्यमा क्रियाशील छन्। चार हजार सैनिक थप्न त्यही अनुसारको प्रविधि र उपकरण आवश्यक पर्छ। फौज विवेकले मात्र चल्न सक्दैन, समयसापेक्ष उपकरणले सुसज्जितसमेत हुनु पर्छ। सैनिकक्रियाकलापसँग सुरक्षा मात्रै नभई देशको प्रतिष्ठासमेत गाँसिएको छ भन्ने नेपाली सेनाले राम्ररी बुझेको छ। त्यसमा सरकारको सहयोगी भूमिका अपेक्षित छ। 

यसैगरी राष्ट्रसङ्घीय शान्ति कार्यसम्बन्धी उपमहासचिव जेन पाइरे लाक्रोइस नेपाल भ्रमण  पूरा गरी शुक्रबार फर्केका छन्। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको भेटमा नेपाली शान्ति सैनिक अनुशासन र कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उनले शान्ति स्थापनाको सुरक्षा वातावरण चुनौतीपूर्ण रहँदा  नेपालले निःसर्त सेना खटाइरहेको भन्दै उच्च प्रशंसा गरेका छन्। नेपाल बसाइमा उनको लुम्बिनी भ्रमणले ठूलो उत्साह जगाएको छ ।

एउटा सैनिक शान्ति मिसन जाँदा उसको व्यक्तिगत हित र उन्नति मात्र भएको छैन, चन्द्रसूर्य अङ्कित झन्डा फहराउँदा मुलुकको इज्जत पनि बढेको छ। मुलुकका लागि ठुलो वैदेशिक मुद्रा आर्जनसमेत भएको छ। एउटा जवान शान्ति सेनामा जाँदा मुलुकका लागि यति धेरै फाइदा हुन्छ तर यहाँ केही व्यक्ति र समूह सेनाको सङ्ख्या बढी भयो, घटाउनु पर्छ, राज्यलाई भार प¥यो भनेर सेनाको मनोबल गिराउने अभियानमा सधैँ क्रियाशील छ। सेनाको सङ्ख्याबारे निर्णय गर्ने अधिकार सरकारको हो। कसैले सार्वभौम राज्यलाई कमजोर बनाउन सेनालाई नै कमजोर बनाउनु पर्छ भनेर लाग्छ भने एउटा स्वाभिमानी नेपाली त्यसको समर्थनमा होइन, विरोधमा उत्रनु पर्छ। 

मुलुकको पहिचान ठुलो भूगोल र जनसङ्ख्याले मात्र स्थापित हुँदैन। संसारमा हामीभन्दा ठुलो भूगोल र जनसङ्ख्या भएका धेरै मुलुक छन् तर शान्ति सेनाको भूमिकाको समीक्षा हुनासाथ नेपालको नाम अग्रपङ्क्तिमा आउँछ। राष्ट्रसङ्घले नेपालप्रति विशेष चासो व्यक्त गर्नु हाम्रा लागि गौरवको विषय हो। सगरमाथा र बुद्ध सँगसँगै शान्ति सेनाले आर्जन गरेको कर्मले नेपाललाई संसारभर चिनाएको छ। यो पहिचान अझै सुरक्षित बनाउन सबैले आआफ्नो क्षेत्रबाट सघाउनु पर्छ। आफ्नो मुलुक सशस्त्र द्वन्द्वको चपेटामा परेका बेला पनि नेपाल राष्ट्रसङ्घप्रतिको प्रतिबद्धतामा कहिल्यै चुकेन किनकि ऊ विश्वमै शान्ति स्थापना हुनु पर्छ भन्ने मान्यतामा धेरै अघिदेखि क्रियाशील र दृढ थियो। हालसम्म शान्ति स्थापना कार्यमा ९० नेपाली सेनाले वीरगति प्राप्त गरेका छन्। यो बलिदानीको राष्ट्रसङ्घबाट उच्च मूल्याङ्कनसमेत भएको छ। 

सैनिक सङ्गठनको प्रतिवाद गर्न खटिएकाहरू भन्ने गर्छन्, ब्यारेकभित्र राख्नकै लागि मात्र किन यति धेरै सेना पाल्ने ? राज्यले नै आवश्यक ठानेर सेनाको सङ्ख्या बढाएको हो, सेना मात्रैले चाहेर यो सम्भव थिएन, छैन पनि। हरेक नेपालीको सुखमा होइन, दुःख, पीडा र कठिन कर्ममा सेना नै अग्रपङ्क्तिमा खटिएको जो कोहीले पनि देख्न सक्छ। यो मुलुक र नागरिकप्रतिको पूर्ण बफादारीको परिणाम हो। यही असार १० गते राष्ट्रको पत्रिका गोरखापत्रको पहिलो पृष्ठमा एउटा तस्बिर छापिएको छ, सिन्धुपाल्चोकको मेलम्चीमा बेलिब्रिज जडान गर्दै नेपाली सेना। असहज र अप्ठेरोमा सेना नागरिकका साथमा छ भन्ने पछिल्लो उदाहरण हो यो। 

हवाईजहाज दुर्घटना, बाढीपहिरो, आगलागी, भूकम्पमा नागरिकको उद्धारलगायत मुलुकमा आइपर्ने हरेक विपत्तिमा सेना अग्रपङ्क्तिमा खटिएको छ। मुलुककै अर्थतन्त्रमा ठुलो महत्व राख्ने रणनीतिक महत्वको काठमाडौँ, तराई–मधेश द्रुतमार्ग निर्माण र दुर्गममा अप्ठेरो सडक निर्माणमा उसैको मोर्चा क्रियाशील छ। कोभिडमा शव व्यवस्थापनको चुनौतीपूर्ण काम सेनाले मात्र गर्न सक्यो। समय समयमा रगत अभावमा छट्पटाइरहेका दुर्गम विकटका नागरिकलाई आफैँले रगत दिएर जोगाएको छ। घरवारविहीनलाई घर बनाइदिएको छ। वातावरण जोगाएको छ। मुलुकका सबै निकुञ्जको सुरक्षा जिम्मेवारीकै कारण वन्यजन्तुको रक्षा भएको छ। यस्तो सङ्गठनको आलोचना स्वाभिमानी नेपालीलाई सह्य हुँदैन। आलोचना गर्नेको सुरक्षा जिम्मेवारी पनि सेनाकै काँधमा छ। उसले मेरो सङ्गठनको विरोध ग¥यो भनेर प्रतिशोधमा उत्रने ? धैर्य, सहनशीलता र कर्म सेनाको पहिचान भएकैले संसारले रुचाएको छ। बौद्धिक चेतको उपयोग मुलुक र नागरिक हितमा गरौँ, सैनिक सङ्गठनको आलोचनामा होइन। सैनिक सङ्गठनमाथि सार्वजनिक रूपमा प्रश्न उठाइनु मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र अस्तित्व रक्षाविरुद्ध हुने छ। सैनिक सङ्गठनलाई कमजोर बनाएर विवादमा तान्न खोज्दा अन्ततः त्यसले राष्ट्रलाई नै कमजोर पार्छ। सैनिक सङ्गठनको आलोचनाले मुलुकमाथि हैकम जमाउन खोज्ने बाहिरी शक्तिलाई बल प्रदान गर्छ भन्ने हेक्का सबैले राख्नु पर्छ। 

राजनीतिलाई जस्तो बाटो बिराउने छुट सैनिक सङ्गठनलाई हुँदैन किनकि उसले नेपाली माटो र आमाको रक्षार्थ शपथ खाएको छ। नागरिकसँगको बढ्दो र सुमधुर सम्बन्ध, कूटनीति, देश तथा विदेशमा मानव अधिकारको मूल्य स्थापित गर्न उसले निर्वाह गरेको भूमिकाबाट संसार परिचित छ। द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ उसको भूमिकामा मानवीय सेवाभाव बढी भएकैले अन्तर्राष्ट्रिय शान्ति सेनामार्फत विश्वमा ठुलो प्रभाव जमाएको छ। 

राष्ट्रहित, सुरक्षा, नागरिक र वैधानिक सरकारप्रति सेना सदैव बफादार रहने संस्कारको विकास मात्रै गरेको छैन, स्थापित नै गर्दै आएको छ। ऊ आफ्नो कुनै पनि भूमिकामा आजसम्म चुकेको पाइएको छैन। जहाँ अप्ठेरो पर्छ, त्यहाँ सेना पुगेको छ। सेनाले आलोचनाको वास्ता नगरी आफू नबोलेर पनि मुलुकको हितप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ, यो नै नागरिक–सेना सम्बन्धको कडी हो। यो कडीलाई छिन्नभिन्न पार्न क्रियाशील व्यक्ति र समूहप्रति हामी सबै सचेत हुन आवश्यक छ। सैनिक र नागरिकबिचको सम्बन्धले मात्र मुलुकको अस्तित्व रक्षा हुने हो। इमानदार र शालीन छविका प्रधान सेनापति प्रभुराम शर्माले भन्ने गरे झैँ अनुशासित, मर्यादित, इतिहास र वर्तमानमाथि न्याय गरिरहेको सैनिक सङ्गठनको विश्वसनीयता र गरिमा उँचो राख्न सबै नेपालीले आआफ्नो ठाउँबाट सघाउनु पर्छ। 

लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।  

Author

विनोद न्यौपाने