गोविन्द शर्मा
बाँके, असार १५ गते । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले कुनै पनि नागरिकलाई भूमिविहीन हुन नदिने बताउनुभएको छ । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार आयोजित जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले देशभर भूमिहिन र अव्यवस्थित बसोबासीलाई सरकारले ब्यवस्थापन गर्ने बताउनुभयो ।
लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अब कुनै पनि नेपाली नागरिक भूमिहिन भएर लामो समयसम्म बस्नुपर्ने छैन ।’ सो अवसरमा मन्त्री श्रेष्ठले वडा –४ का ७४ घर परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभयो ।
प्रक्रिया पुगाएर देशैभरका भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने मन्त्री श्रेष्ठको भनाइ छ । लालपूर्जा वितरण देशभर सञ्चालन गरेर केही समयभित्रै सबै भूमिहीनका हातमा लालपूर्जा उपलब्ध गराउने सरकारको नीति रहेको उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठले नरैनापुरमा मन्त्रालय अन्तर्गतका नापी र मालपोत कार्यालय स्थापना गरिने बताउनुभयो । सो अवसरमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, प्रदेशसभा सदस्य कृष्णा केसी, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, भूमि आयोग बाँकेका अध्यक्ष श्रवण यादवले भूमिहीन समस्या समाधानका लागि प्राथमिकता दिएर काम गर्न सुझाव दिनुभयो ।
बाँकेका अन्य स्थानीय तहमा भूमि आयोगको कामलाई अघि बढाइएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जग्गाको नापजाँच सुरु गरिएको जानकारी दिनुभयो ।