कृषि र पर्यटन नेपाल र नेपालीको जीवनयापनको प्रमुख आधारभूत आर्थिक गतिविधि हुन्। जनसङ्ख्याको ८० प्रतिशत (७९.४२ प्रतिशत) ग्रामीण बसाई, दुई तिहाइभन्दा बढी (६६ प्रतिशत) कृषि पेसामा संलग्न तथा गार्हस्थ उत्पादन मा (३६ प्रतिशत) योगदान रहेको परिस्थितिमा कृषि क्षेत्रको व्यवसायलाई मेरुदण्डका रूपमा विकास गर्नु जरुरी छ।
यसै गरी पर्यटनको अपार सम्भावना बोकेको नेपालको भू–संरचना, विविध खाले मानव एवं प्राकृतिक विविधतालाई विश्वसामु बजारीकरण गर्न कमजोर रहे पनि आर्थिक क्षेत्रमा उदाउँदा विश्वका ठुला हाम्रा छिमेकी मुलुक भारत र चीनलाई मात्र आकर्षण गराउन सकियो भने नेपाल एउटा समृद्ध राष्ट्र र नेपाली खुसी र सुखी नरहने कुरै छैन। संसारमै अन्तर्राष्ट्रिय गन्तव्यको पहिचान बोकेका सगरमाथा, लुम्बिनी र हिन्दु आस्था एवं सम्पदालगायतले पर्यटन गतिविधि सञ्चालन गर्ने प्रचुर सम्भावना छन्। सिप, प्रविधि र बजारीकरण गर्ने चुनौतीलाई राम्ररी व्यवस्थापन गर्न सक्ने हो भने नेपाल र नेपालीको भविष्य उज्यालो छ।
किन र कसरी ?
नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत राष्ट्रिय धान दिवस प्रत्येक असार १५ मा मनाउँदै आएको छ। त्यसै गरी ग्रामीण पर्यटनको क्षेत्रमा झन्डै दुई दशक पहिलेबाट सक्रिय संस्था ‘गाउँ पर्यटन प्रवर्धन मञ्च–नेपाल (भिटफ–नेपाल) ले बागमती प्रदेश, नुवाकोट जिल्लाको बेल्कोट–१३ मा बाजागाजाका साथ गाउँपालिकासँगको संयुक्त आयोजनामा २० औँ रोपाइँ महोत्सव मनाउँदैछ। यहाँ राष्ट्रिय गार्हस्थ उत्पादनको क्षेत्रमा करिब ११ प्रतिशत योगदान गरेको पर्यटन क्षेत्र र ३६ प्रतिशत जिडिपीमा योगदान गर्ने कृषि व्यवसायलाई उच्च प्रथामिकताका साथ अगाडि बढाउनु आवश्यक छ। सानो पुँजी, सिप र अनुभवका आधारमा विकसित हुँदै आएको पर्यटन क्षेत्र र दुईतिहाइ नेपालीको आयआर्जनको क्षेत्रलाई नेपाल सरकारले बेवास्ता गर्न सक्दैन।
जुन कुरा प्रथम पञ्चवर्षीय योजना (२०१३ साल) देखि हाल पन्ध्रौँ योजनासम्म ध्यान (प्राथमिकता) दिँदै आएको छ। यो क्षेत्रलाई राम्ररी पहिचान गर्न नसक्दा झन्डै एक करोड युवाशक्ति खाडी मुलुक, एसिया प्यासिफिक मुलुक, अस्ट्रेलिया, अमेरिका तथा युरोपियन मुलुकलगायत विश्वका १७२ मुलुकमा भौँतारिन पुगेका छन्। हुन त अहिलेको विज्ञापन, प्रविधि र भूमण्डलीय प्रभावको युगमा मानिसले राम्रो अवसरको खोजीमा अस्थायी एवं स्थायी बसाइँसराई गर्नु स्वाभाविक हो। मुलुकबाहिर श्रमिकका रूपमा विषम हावापानी र कठिन परिश्रमका साथ काम सम्पादन गर्नुपर्ने र अन्य बाध्यतालाई धेरै हदसम्म कृषि व्यवसायमार्फत कम गर्न सकिन्छ।
असार १५ लाई राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव गर्ने नेपाल सरकार र भिटफ नेपालको एउटै उद्देश्य हुनु, कृषि क्षेत्रमा जनचेतना फैलाउने र राष्ट्रिय उत्पादन बढाउन, कृषिलाई निर्वाहमुखी पेसाबाट व्यावसायिक बनाउने, कृषि पर्यटनको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गराउने कार्य राम्रो हो। पर्यटनको बढी हलचल हुने पोखरा उपत्यका, विराटनगर, काठमाडौँ उपत्यका, नुवाकोटलगायत चितवन, रुपन्देहीमा भिटोफ–नेपालले विगत दुई दशकदेखि धान रोपाइँ महोत्सव र कोदो रोपाइँ जात्रा आयोजना गर्दै आएको छ। उक्त महोत्सवमा अन्तर्राष्ट्रिय पर्यटक खास गरी युरोपियन, अमेरिकन, अस्टे«लियन, जापानिज, चिनियाँसमेत संलग्न गराएर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालसँग रहेका अथाह मौलिक संस्कृति चिनाउने काम गर्दै आएको छ।
यो संस्थाले विभिन्न जनजातिसँग सम्बन्धित मौलिक संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तो कार्यक्रम सर्जकरकलाकर्मी कृष्ण कँडेल समूहको इन्दे्रणी क्लब, पत्रकार समूह, ग्रामीण पर्यटनविज्ञ, कृषि वैज्ञानिक एवं सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको आतिथ्यमा प्रत्येक वर्ष हुँदै आएको छ। संस्थाले काठमाडौँ, पोखरा उपत्यकालगायत इलाम, झापा, विराटनगरसम्म फाम ट्रिप गराएर त्यहाँका कृषक, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, सांस्कृतिक समूह, पञ्चेबाजा, खैजडी (मुजुरा) लगायतका टोलीसँग खेतबारीमा बिताउँदै आएको छ।
कृषकसँग बसेर दहीचिउरा खाने, स्थानीय पञ्चे बाजागाजासँग असारे गीत घन्काउँदै रोपारी बाउसेसँग धान रोप्ने र उक्त दिनलाई (राष्ट्रिय धान दिवसलाई) सार्थक बनाउने काम भिटोफ–नेपालबाट हुँदै आएको छ। यसै क्रममा वार्षिक तीन वटा उत्कृष्ट ‘आन्तरिक पर्यटन भ्रमण गन्तव्य गाउँ’ लगायतका गाउँ घोषणा गर्र्ने उत्कृष्ट घरबास (होमस्टे) सञ्चालकलाई पुरस्कृत गर्ने र ग्रामीण पर्यटनको क्षेत्रमा उत्कृष्ट लेख, रचना एवं समाचार लेखन एवं प्रचारप्रसार गर्ने कलमजीवीलाई समेत पुरस्कृत गर्छ।
विगतमा भिटोफ–नेपाल गण्डकी प्रदेशको संयोजकत्वमा प्रदेशका ११ वटै जिल्लामा होमस्टे प्रवर्धनका लागि झन्डै ३० करोड रुपियाँ बजेट पूर्वाधार विकास र क्षमता अभिवृद्धि गर्नेलगायत कामका लागि खर्च ग¥यो। यो संस्थाको दुई दशकको संलग्नता र सहभागिताका कारण देशमा हाल झन्डै १२ हजार होमस्टे विधिवत् र स्वतस्फुर्त सञ्चालनमा आएका छन्।
प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा भिटोफ–नेपालले कृषि उपजलाई पर्यटनसँग जोड्न बेलामौकामा पर्यटन मार्ट आयोजना गर्दै आएको छ। उक्त मार्टमा हरेक जिल्लामा सञ्चालनमा रहेका होमस्टेले आफ्नो जनजाति विशेष, घर आवासमा पाहुना (पर्यटक) लाई खुवाउने अर्गानिक परिकार, फलफूल, सागसब्जी, अन्नबाली जस्तैः नास्पाती, केरा, सिस्नु, चिया, खुर्सानी, ग्राउन्ड एप्पल, कोदो, फापर, मकै, जुनो, चिनो, काउनो, ज्वातो, आलुलगायत थरिथरि खाद्य एवं पेय पदार्थमार्फत आतिथ्य गराउने सिप, तालिम र अभिमुखीकरण गराउँदै आएको छ। ककनी क्षेत्रको स्ट्रबेरी, ट्राउट माछा, रसुवा बेत्रावतीमा किसानलाई प्रोत्साहन गर्न माघे सङ्क्रान्ति गोरु जुधाइ र पुरस्कार, इलामको चिया र अकबरे खुर्सानीलगायतलाई प्रचारप्रसार गर्न फाम ट्रिप गर्दै सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौँ र पोखरास्थित विभिन्न पर्यटन व्यवसायसँग आबद्ध पेसागत सङ्घसंस्थाको सक्रियता र परिचालनमा सहरकेन्द्रित पर्यटन व्यवसायलाई ग्रामीण क्षेत्र उन्मुख गराउने प्रयास भइरहेको छ। लमजुङ, कास्की, इलाम, बागलुङ, म्याग्दी, मुगु, हुम्ला, बर्दिया, बाँके, कैलाली, कन्चनपुर, नवलपुर, पाल्पालगायत धेरै जिल्ला र गाउँपालिकाभित्र सञ्चालित होमस्टेमा बाह्य पर्यटक आकर्षित भई बास बस्ने र आतिथ्य, कला तथा गलामा रमाउने गर्न थालिसकेका छन्। कृषि र पर्यटन व्यवसाय सेवा क्षेत्र नभएर व्यक्ति, निजी क्षेत्र र समुदायिक लाभको क्षेत्र हो। यसमा सरकारको भूमिका सहयोगात्मक हुनु पर्छ। आवश्यक भौतिक एवं मानव पुँजी विकास र तयार गरिदिने, त्यसमा व्यक्ति, निजी क्षेत्र र समुदायले व्यक्तिगत लाभ उठाउन सक्ने गरी प्रविधियुक्त ज्ञानले भरिपूर्ण बनाउनु पर्छ।
कृषिलाई कृषि पर्यटनसँग जोड्न समय समयमा कृषि पर्यटन मार्टको आयोजना, कृषि उत्पादनका परम्परागत खानपानलाई विभेदीकरण (रूपान्तरण) गरी नयाँ परिकार तयार गर्नु पर्छ। हिजोको भात, आँटो, ढिँडो, रोटी आदिलाई जस्तै एक केजी आलुबाट साधारण तरकारीको २५ रुपियाँको ५० मा बिक्रीलाई परौठा, फेन्च फ्राई, चिप्स, लेयज बनाएर २५० रुपियाँभन्दा बढी मूल्यमा बिक्ने परिकारमा रूपान्तरण गर्न सिकाउन सकिन्छ। कैलाली टीकापुरको कालु हमालको ४२ थरिका केराका परिकार, नम्बरी भान्सामा राँगोको मासुबाट नेवारी चार दर्जनभन्दा बढी परिकार र काभ्रेको साँगाका किसानको लप्सीबाट तयार भएका परिकारले प्रोत्साहन पाउने गरी हरेक कृषि उपजलाई बजारीकरण गर्नु पर्छ। कृषि पर्यटनको विकास सहजै गर्न सिप, प्रविधि एवं आतिथ्य कलामा जोड दिनु पर्छ।
राष्ट्रिय बाली तथा कृषि अनुसन्धान केन्द्रलगायतले यस क्षेत्रमा अध्ययन अनुसन्धान गरी नीति निर्माण तहमा र सिधै कृषक एवं ग्रामीण पर्यटन व्यवसायीमा लाभप्रद हुने योजना, रणनीति, कार्यक्रम ल्याउनु पर्छ। उत्पादनलाई बजारसँग जोड्नुलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ। घरगाउँ क्षेत्रमा अलपत्र पहिचानविहीन (बेवारिसे) अवस्थामा यत्रतत्र छरिएर रहेका स्रोतसाधनको पहिचान गरी सानो असङ्गठित रूपमा रहेको पुँजीलाई सहकारीको माध्यमबाट परिचालन गर्न आवश्यक छ। उत्पादक र उपभोक्ताले समुचित लाभ उठाउने संयन्त्र विकास गर्नु पर्छ। उल्लिखित सरोकारवाला निकाय, समुदाय, व्यक्ति, व्यवसाय वा उद्यमकर्ता र स्वयम् कृषकले आफूसँग रहेको सिप, अनुभव र क्षमता प्रदर्शन गरेमा राष्ट्रिय धान बाली दिवस एवं रोपाइँ महोत्सव मात्रै होइन, अन्य खाद्य उत्पादन अर्थात् उपजलाई अधिकतम उपयोगमा ल्याई लाभ उठाउन सकिन्छ।
लेखक ग्रामीण पर्यटन अभियन्ता हुनुहुन्छ।