• १० पुस २०८१, बुधबार

समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्व राष्ट्रपति भण्डारी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : कविता थापा

काठमाडौं, असार १४ गते। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा भईनसकेको बताउनुभएको छ। बिहीबार राजधानीमा आयोजित जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउन लामो यात्रा तय गर्न बाँकी रहेको बताउनुभयो। 

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि लामो यात्रा तय गर्न बाँकी नै छ। जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन।”

उहाँले राजनीतिक रूपमा केही परिवर्तन भए पनि नेपाली क्रान्ति सम्पन्न भई नसकेको बताउनुभयो। “राजनीतिक रूपमा केही संरचनागत परिवर्तन भएका त छन् तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन, केबल सुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावना बाँकी नै छन्। हामीले जनताको बीचमा गएर नै ती सम्भावनाको खोजी गर्नुपर्छ”, उहाँले भन्नुभयो। 

उहाँले जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ नेपाल समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “कुनै एउटा राजनीतिक दलको विचार यो होइन। नेपाली माटोको सुवास आउने विचार हो। क्रान्तिको मार्गदर्शक जबज नेपाली सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयास हो भन्ने तथ्य सम्पूर्ण रूपले स्थापित भएको छ।”

उहाँले दोस्रो विश्वयुद्धपछि स्वाधीनता र देशभक्तपूर्ण आन्दोलनको सुरुवात स्वरूप तथा निरङ्कुश शासकद्वारा लादिएका शोषण र दमनविरुद्ध र नेपाली राष्ट्रियताको लागि नेपाली कम्युनिष्ट आन्दोलनको विकास भएको चर्चा गर्नुभयो। 

गौतम बुद्धदेखि मार्क्स जस्ता दार्शनिकले मानवको सुख र शान्ति नै खोजको मुख्य विषय बनाएकोले राजनीतिक दलले पनि यसैलाई अनुसरण गर्नसक्नुपर्ने भनाइ उहाँले राख्नुभयो।