• १२ मंसिर २०८१, बुधबार

राष्ट्रको साझा मुद्दामा सरकार कमजोर : उपमहासचिव ज्ञवाली

blog

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, असार १४ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार राष्ट्रका साझा मुद्दामा कमजोर रहेको बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेनमा प्रेस चौतारीले आज गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय एकता, अर्थतन्त्र र समातामुलक समाज निर्माण र देशको अस्थिरता हटाउनुमाभन्दा सत्ता टिकाएर स्वार्थ पूरा गर्नमा सरकार लागेको उहाँले बताउनुभयो । “राष्ट्रका साझा मुद्दामा राष्ट्रिय एकता हुन सकेको छैन, अर्थतन्त्र धराशायी हुँदैछ । राजनीति अस्थिरतातिर जाँदैछ त्यसमा सरकारलाई चिन्ता देखिएन” ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या, १९५० को असमान सन्धि, ईपीजी प्रतिवेदन, हवाइ रुटका बारेमा सम्झौता हुन नसके पनि भारतले आफ्नो चाहना पूरा गरेको भनाइ राख्नुभयो ।  

आफ्नो पार्टी वर्तमान सरकार ढाल्ने पक्षमा हाल नभएको भन्दै सरकारकै कारण देश सङ्कटतिर गएको बताउनुभयो । पत्रकारको प्रश्नमा ज्ञवालीले कांग्रेस भित्रका केही नेताहरू पनि सरकार परिवर्तनको पक्षमा रहे पनि निर्णायक हुन नसकेको बताउनुभयो । 

देशमा हुने सबै प्रकारका भ्रष्टाचारलगायतका सुशासनविरुद्धका काम छानबिनमा आफ्नो पार्टी दृढतापूर्वक सरकारलाई सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । तर राजनीतिक वा अन्य तरिकाले पूर्वाग्रही नभई प्रहरी र अदालतलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने बताउनुभयो ।  

उपमहासचिव ज्ञवालीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अछाम अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्नुभयो । ज्ञवाली नेकपा (एमाले) अछामद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षणका लागि अछाम पुग्नुभएको छ ।