• ११ असोज २०८१, शुक्रबार

खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थी

blog

कमलामाई नगरपालिका –४ स्थित प्रावि केराबारीका बालबालिका खुल्ला चौरमा पढ्दै । तस्बिर : बाबुराम देवकोटा, सिन्धुली

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असार १३ गते । सिन्धुलीको कमलामाई नगरपालिका –४ स्थित प्राथमिक विद्यालय केराबारीमा अध्ययनरत बालबालिका वर्षातको मौसममा पनि एक सातादेखि खुल्ला आकाशमुनि चौरमा पढ्न बाध्य छन् । जस्तापाताले छाएको विद्यालयको छानो हावाहुरीले उडाएर क्षतिग्रस्त बनाएपछि यहाँ अध्ययनरत बालबालिका खुल्ला आकाशमुनिको चौरमा पढ्न बाध्य भएका हुन् ।

विद्यालयका अनुसार बालविकास कक्षासहित पाँच कक्षासम्म सञ्चालित उक्त विद्यालयमा यतिखेर ४३ जना बालबालिका अध्ययनरत छन् । बस्ने ठाउँको अभावमा बालबालिका पढ्न विद्यालय आउने क्रम पनि घट्दै गएको शिक्षकहरू बताउँछन् । विद्यालयको छानो उडाएको एक साता बितिसक्दा पनि मर्मत नहुँदा बालबालिकालाई चौरमा राखेर पढाई सञ्चालन गर्नु परेको विद्यालयका प्रधानाध्यापक हेमबहादुर आलेको गुनासो छ । उहाँले भन्नुभयो, “गत बिहीबार हावाहुरीसहित परेको पानीले छानो उडाएर ध्वस्त नै बनाएको छ । छानो मर्मतका लागि सहयोग माग्न नगरपालिका धाइरहेको छ ।” दैनिक रूपमा आकाशबाट पानी परि रहेकाले ढुङ्गा माटो जडान गरी निर्माण गरेको कक्षा कोठा हिलाम्य रहेको र कक्षा कोठाभित्र राखेर पढाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । 

उहाँका अनुसार दुई वटा भवनमध्ये बालविकास कक्षा र विद्यालयको कार्यालय रहेको दुई कोठे भवन मात्रै सुरक्षित (सद्धे) छ । पानी परको बेला चौरमा पढी रहेका बालबालिका त्यही बालविकास कक्षा र कार्यालयमा आएर ओत लाग्ने गरेका छन् ।

त्यसो त केराबारी गाउँमा जनजातिको बसोबासको बाहुल्यता रहेको छ । नगरपालिकाका कतिपय विद्यालय भवन आधुनिक शैलीमा धमाधम पक्की निर्माण भई रहेपनि २०४४ सालमा स्थापना भएको उक्त विद्यालय ढुङ्गा माटोको जडानमा निर्माण भएको भवनबाट गुज्रिरहेको छ । उक्त विद्यालयको भवन पक्की बनाउन सके हावाहुरीको डर नहुने र बालबालिका पनि सुरक्षित साथ पढ्न पाउने स्थानीय अभिभावक बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सक्तबहादुर तामाङ भन्नुहुन्छ, “पानी पर्दा एकैछिनमा आरिले घोप्टाए जस्तो आउँछ, घाम लाग्दा टाउको नै फुट्ला जसरी लाग्छ । छानोको अभावमा बालबालिकाको पढाइलाई नियमित गर्न निकै सकस भएको छ ।”

हावाहुरीले जस्तापाता सहित छानोछाउन प्रयोग गरिएका काठसमेत भाँचेर क्षतिग्रस्त बनाएको उहाँले सुनाउनुभयो । कमलामाई नगरपालिकाका मेयर विद्यालय मर्मतका लागि आवश्यक जस्तापाता र छाउन लाग्ने खर्च उपलब्ध गराई सहयोग गर्ने बताउनुहुन्छ ।