• २० असोज २०८१, आइतबार

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

blog

जङ्गली च्याउ आएर बिरामी पर्नुभएको देशमाया राई । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी, असार १३ गते । 
जङ्गली च्याउ खाँदा मोरङको कानेपोखरी–७ बरगाछीमा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए ।

खाना खाए लगत्तै ७६ वर्षीया देशमाया राई, ४६ वर्षीय मनकुमार राई, ४४ वर्षीया मङ्गला राई ,२४ वर्षीया सुस्मिता राई र १४ वर्षीया आइसिका राई बिरामीलाई नसा लागेको थियो । राति ९ बजेदेखि पाँचै जनाले बान्ता गर्दै बरबराउन थालेपछि राई परिवारका आफन्तलाई खबर गरिएको थियो ।

मङ्गला र सुस्मिताको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ भने अन्य तीनजना अझैसम्म उठ्न सकेका छैनन् । देशमाया राईले भन्नुभयो, ‘‘खुट्टा टेकिँदैन, उठ्ने आँट आउँदैन ।’’ अर्का बिरामी मनकुमार राईले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।