• २० असोज २०८१, आइतबार

मेची राजमार्ग पुनः अवरुद्ध

blog

डाइभर्सन गरिएको स्थानमा ह्युम पाइपमाथिबाट बगिरहेको खोला हेर्दै स्थानीय र प्रहरी । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पाँचथर

राधा लुइटेल
फिदिम, असार १३ गते ।
मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । डाइभर्सनमा गएराति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो ।

बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ ।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो । पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो । प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गएरातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।