• १४ मंसिर २०८१, शुक्रबार

विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

blog

सिन्धुली समाचारदाता 

सिन्धुलीमाढी, असार १३ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्षमा ५५२ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। यो गाउँपालिकाको आव २०७९/८० को वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्ड सिन्धुलीसँगको सहकार्यमा अति विपन्न, गरिब, दलित, अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो।

गाउँपालिकाका अनुसार वडा नं. १ का ६१ परिवार, वडा नं. २ का ७१ परिवार, वडा नं. ३ का ६२ परिवार, वडा नं. ४ का ९० परिवार, वडा नं.५ का ७५ परिवार, वडा नं. ६ का सय परिवार र वडा नं. ७ का ६० परिवार र थप ३३ परिवारसहित ५५२ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शाहले गाउँपालिकाले चालु आवमा अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमाका लागि २५ लाख रुपियाँ विनियोजन गरेको र हालसम्म स्वास्थ्य बिमाबापत १९ लाख २५ हजार रुपियाँ भुक्तानी गरिसकिएको जानकारी दिनुभयो।

उहाँले मिर्गाैला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका समेत २० जना बिरामीलाई गाउँपालिकाले उपचारबापत रकम उपलब्ध गराउँदै आइरहेको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्ष गाउँपालिका कार्यालयले क्यान्सर रोगी १२ जना, मेरुदण्ड पक्षाघात भएका एक जना, डायलासिस गरिरहेका छ जना र मिर्गाैला प्रत्यारोपण गरेका एक जनालाई जनही पाँच हजार रुपियाँ मासिक उपचार खर्च उपलब्ध गराएको छ।