• १४ मंसिर २०८१, शुक्रबार

व्यवस्थापन समितिकै कारण विद्यालय लथालिङ्ग

blog

रामेछाप समाचारदाता 

रामेछाप, असार १३ गते । सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षा, बालमैत्री एवं छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, ‘इन्डोर’ र ‘आउटडोर’ खेल मैदान हरेक विद्यालयका न्यूनतम आधारभूत आवश्यकता हुन्। रामेछापको रामेछाप नगरपालिका–३, साँघुटारस्थित कालिका ईश्वरी आधारभूत विद्यालयमा भने यी कुनै पनि सुविधा छैनन्। कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा २२ जना विद्यार्थी छन्। आठ जना शिक्षकको दरबन्दी भएको यो विद्यालयमा अहिले छ जना शिक्षक छन्।  

अधिकांश कक्षामा तीन/चार जनाभन्दा बढी विद्यार्थी छैनन्। यो विद्यालय अहिले विद्यालय व्यवस्थापन समिति र शिक्षकको कमाइ खाने ठाउँ बनेको छ। विद्यालयको २ कक्षामा पढ्ने एक जना पनि विद्यार्थी नभएको स्थानीय नवराज विकले बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकालाई सिकाइमा केन्द्रीकृत गर्ने वातावरण बनाउनु विद्यालयको दायित्व हो तर विद्यालय व्यवस्थापन समिति नै चरम अनियमिततामा लाग्दा विद्यालय सङ्कटमा छ। कुनै कक्षामा एक जना पनि विद्यार्थी छैनन्।” विद्यार्थीका लागि अत्यावश्यक खेल मैदान, भवन र स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने दायित्व बोकेको विद्यालय व्यवस्थापन समिति अनियमितता गर्नेतर्फ लाग्दा बालबालिकाको भविष्य अन्धकार बनेको उहाँले बताउनुभयो। 

विसं २०७२ सालको भूकम्पले जीर्ण बनाएको भवनमा बसेर विद्यार्थी पढ्न बाध्य छन्। जिल्लाभर भूकम्पले भत्किएका विद्यालयमा ठुला ठुला सुविधासम्पन्न पक्की भवन निर्माण भए तर यो विद्यालयको भवन अहिलेसम्म बन्न सकेको छैन। वर्षौंदेखि निर्माण सुरु गरिएको विद्यालय भवन बजेट अभाव भएको भन्दै अलपत्र अवस्थामा छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर प्रधानले विद्यालयको खातामा रहेको छ लाख रुपियाँमध्ये तीन लाख रुपियाँ व्यक्तिगत रूपमा निकालेर चलाएको स्थानीय खिलबहादुर प्रधानले बताउनुभयो। उक्त पैसा किन चलाएको भन्दा उल्टै अध्यक्ष प्रधानले धम्क्याएको उहाँले बताउनुभयो। स्थानीय सरकारले यो विद्यालय सुधार तथा व्यवस्थापनमा कुनै चासो नदेखाएको उहाँको भनाइ छ। विद्यालयलाई प्रविधिसँग जोड्न भन्दै अहिले विद्यालयमा तीन थान कम्प्युटर छन्। ती कम्प्युटर पनि उचित व्यवस्थापनको अभावमा धुलो र जालो लागेर जीर्ण अवस्थामा प्रयोगविहीन भएका छन्। कम्प्युटर सिक्न त के छुनसम्म नपाएको विद्यार्थीको गुनासो छ। 

रामेछाप नगरपालिका शिक्षा शाखाका अधिकृत नमराजप्रसाद बडूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर प्रधानले विद्यालयको खातामा रहेको रकम चलाएकोबारे नगरपालिकामा निवेदन परेको र त्यसको छानबिनका लागि समिति बनाइएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन अध्यक्षले विद्यालयको खातामा रहेको पैसा चलाएको विषयमा निवेदन परेपछि छानबिन समिति बनाएका छौँ। अबको एक दुई दिनमा त्यो समितिले काम सुरु गर्छ।”  निर्माण सुरु भएको वर्षौंसम्म भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै बसेर पढ्न बाध्य छन्।