• ४ कात्तिक २०८१, आइतबार

उपसभामुख राना र चिनियाँ प्रतिनिधि मण्डलबीच भेट

blog

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग भेट गर्नुहुँदै । तस्बिर : संघीय संसद सचिवालय

काठमाडौं, असार १२ गते। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। 

चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको चिनियाँ संसदीय प्रतिनिधि मण्डलसँग आज (मंगलबार) सिंहदरबारमा उपसभामुख रानाले भेटवार्ता गर्नुभएको हो।

भेटमा उपसभामुख रानाले नेपाल चीन सम्बन्ध निकै पुरानो र घनिष्ठ भएको चर्चा गर्दै दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।  

नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूल, जडीबुटी लगायत कृषि उत्पादन अर्ग्यानिक र उत्कृष्ट हुने भन्दै उपसभामुख रानाले नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म विस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताउनुभयो। 

‘‘नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूल विशेष गरी ओखर निकै राम्रो र स्वादिलो हुन्छ,’ रानाले भन्नुभयो, ‘‘नेपालमा उत्पादन हुने फलफूल, जडीबुटी चिनियाँ बजारसम्म विस्तार गर्न सके चीनका नागरिकले हिमाली क्षेत्रको उत्पादनको स्वाद पाउनु हुन्थ्यो।’’ 

भौगोलिक विकटता र पर्याप्त सडक मार्गको विकास नहुँदा छिमेकी देश चीनसँग सीमित मात्रामा नाका रहेको भन्दै उपसभामुख रानाले भएका नाका पनि बेला बेलामा बन्द हुने गरेकाले समस्या हुने गरेको बताउनुभयो। नेपालमा बनाइएको कार्पेट चीनमा निर्यात हुने गरेको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै उपसभामुख रानाले कतिपय कार्पेट जेलमा रहेका कैदी बन्दीले समेत बनाउने गरेको उल्लेख गर्नुभयो।

आफू राजनीतिमा आउनुअघि सामाजिक संस्थामार्फत समाजसेवा गरेको चर्चा गर्दै उपसभामुख रानाले राजनीतिमा आएपछि आफूलाई नयाँ अनुभूति भएको बताउनुभयो।

संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएका तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै निकै घनिष्ठ रहेको बताउनुभयो। 

तिब्बत स्वायत्त क्षेत्रको प्रान्तीय टोलीको नेतृत्व गर्दै आफू पहिलोपटक नेपाल आएको उल्लेख गर्दै जियाङले तिब्बतले नेपालसँगको सम्बन्धलाई सधैँ विशेष प्राथमिकता दिने बताउनुभयो। 

‘चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणले नेपाल-चीन सम्बन्धको नयाँ अध्याय सुरु भएको छ,’’ जियाङले भन्नुभयो, ‘‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको हामी प्रशंसा गर्छौँ।’

भूकम्प र कोरोना महामारीका कारण नेपाल–चीन सीमा नाकामा केही समस्या आएको चर्चा गर्दै जियाङले पछिल्लो समय सबै नाकाहरू खुल्दै गएको र सामान आयात निर्यातमा हुने कठिनाइ हट्दै गएको बताउनुभयो। 

‘‘हामीले नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेका छौँ। चीनको तर्फबाट नेपालको सीमा क्षेत्रसम्म भौतिक पूर्वाधारका काम दूत गतिमा गरिरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘कोरोना र भूकम्पले प्रभावित सीमा नाकाहरू सबै खुलिरहेका छन्।’’

भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलका साथै नेपालका लागि चीनका राजदूत छन् सोङ सहभागी हुनुहुन्थ्यो।