सिराज खान
नेपालगन्ज, असार १२ गते। बाँकेमा भारतबाट हुने अवैध आयात र तस्करी बढेको छ। नेपाल भारत मुख्य नाका जमुनाहामा भारतबाट सय रुपियाँ भन्दा बढीको सामान ल्याउनेसँग राजस्व सङ्कलन गर्न थालिएपछि साइड नाकाबाट अवैध आयात र तस्करी बढेको हो।
बाँके प्रहरीले दुई दिनको अवधिमा मात्र भारतबाट अवैध भित्र्याइएका ४० लाख भन्दा बढीका सामान र गाडी नै नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालयले पछिल्लो समयमा तस्करी र अवैध आयात बढेको सूचना पाएपछि अवैध सामान नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीले जानकी गाउँपालिका वडा नम्बर ३ स्थित नेपालगञ्ज–गुलरिया सडकखण्डबाट भन्सार छलेर भारतबाट ल्याइएको २२ लाख रुपियाँ भन्दा बढीको सामान र सामान बोकेको बोलेरो गाडी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका ६ निवासी २५ वर्षीय कुशल भट्टराईले चलाएको भे १ च ३९५१ नम्बरको बोलेरो गाडीमा लोड भएको अवस्थामा भन्सार छलीको ठुलो परिमाणमा सामान बरामद भएको हो।
बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरले बोलेर गाडीसहित २२ लाख रुपियाँको एलजी ब्राण्डको एअरकन्डिसन, डिपी स्विच ४५ डब्बा, स्विच सकेट ३६० डब्बा, स्विपर ब्राउजर २७ पिस बरामद भएको जानकारी दिनुभयो। उहाँले गाडी र चालकसहित बरामद सामानलाई नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ।
प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलेर नेपाल ल्याइएको चिनी, सोयाबिन तेल तथा सूर्तीसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुरबाट प्रहरीले उक्त सामानसहित भे १ ख ३३४८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले ट्रकबाट चिनी ६० बोरा, सोयाबिन तेल तीन सय पेटी र सुपर पावर सुर्ती ५० पोका बरामद गरेको छ। प्रहरीका अनुसार, नियन्त्रणमा लिइएको सामान अन्दाजी मूल्य १७ लाख ५२ हजार बराबरको रहेको छ। बरामद सामान, ट्रक र ट्रक चालकलाई थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ।