• १४ मंसिर २०८१, शुक्रबार

२० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान

blog

निस्दी गाउँपालिकाले सम्मान गरेपछि । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, असार १२ गते । २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलालाई गाउँपालिकाले सम्मान गरेको छ । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेका महिलाहरूलाई सम्मान गरेको हो । 

बालविवाहलाई निरुत्साहित गर्दै २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन पालिकाले सम्मान गरेको हो । यसले बालविवाह न्यूनीकरण गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने र महिलालाई शिक्षामा आकर्षित गर्ने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । अध्यक्ष सारुले भन्नुभयो, “उमेर नपुगी विवाह गर्ने क्रम नरोकिएपछि गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्नेलाई सम्मान गर्न थालेको हो ।”

गाउँपालिकाले आव २०७९/०८० को हालसम्म २० वर्ष उमेर पुगेर विवाह गर्ने २४ जना महिलालाई सम्मान गरेको जनाएको छ । यो वर्ष विभिन्न वडाका कक्षा १२ उत्तीर्ण गरेर विवाह गरेका २४ जना महिलालाई सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताउनुभयो । उनीहरूलाई सम्मानपत्र, दोसल्ला र नगद ८ हजार रुपियाँ प्रदान गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि निस्दी गाउँपालिकाले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका महिलालाई सम्मान गरेको थियो । जिल्लाको दुर्गम क्षेत्रमा रहेको निस्दी गाउँपालिकामा बालविवाह अत्यधिक हुने गरेको छ । निस्दीमा १४-१५ वर्षदेखि नै विवाह हुने गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह निस्दीको मुख्य समस्याको रूपमा रहेको छ, बालविवाहलाई न्यूनीकरण गर्न विभिन्न अभियान सञ्चालन गरेका छौँ ।”

निस्दी गाउँपालिका र सरोकारवालाहरूले बालविवाह गर्नेको घरमा भोज खान नजाने निर्णय गरिसकेको छ । बालविवाहलाई निरुत्साहित गर्न उमेर नपुगी विवाह गरेको घरबाट निम्तो आए त्यस्ता घरमा भोज खान नजाने निर्णय भएको पालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभयो ।