जानु पाण्डे
कपिलबस्तु असार १२ गते । घर आँगनमा आउने सर्पलाई उद्धार गर्नका लागि सर्प उद्धार सम्बन्धी तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुले ३० जनालाई उद्धारकर्ता तालिम प्रदान गराएको छ ।
सामुदायिक वनका प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सशस्त्र वन रक्षकलाई तालिम प्रदान गरिएको हो । तालिममा बोल्दै डिभिजन वन अधिकृत विजय राज सुवेदीले सर्प र समुदाय बीचको द्वन्द्व कम गर्न सर्प उद्धारको तालिम दिएको बताउनुभयो । तालिमसँगै संस्थागत रूपमा सर्प उद्धारका सामग्री समेत प्रदान गरिएकोले उद्धार गरिएका सर्पको पुनर्स्थापना गरिने सुवेदीले बताउनुभयो ।
तालिमको सहजीकरण गर्दै सर्प संरक्षण अभियन्ता सुनिल सापकोटाले सर्प संरक्षणले वातावरणलाई फाइदा हुने बताउनुभयो । सापकोटाले भन्नु भयो, “सर्पले असुरक्षा महसुस नभएसम्म टोक्दैन । टोक्दैमा विष छाड्छ भन्ने पनि हुँदैन । ८० देखी ९० प्रतिशत टोकाइमा विष छाड्दैन । सर्पले टोकेमा तत्काल नजिकको उपचार केन्द्रमा जानुपर्छ ।”
सर्पदंशको उपचार गर्न आउनेमध्ये १० प्रतिशतलाई मात्र औषधि (एन्टी स्न्याक भ्यानम) चलाइएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । प्राय रातिको समयमा डसेको केसमा औषधि चलाउन पर्ने अवस्था देखिएकोले रातको समयमा सतर्क भएर झुल लगाएर सुत्न भण्डारीले सुझाव दिनुभयो । सर्पले डसेपछि झारफुक गरेर आउने समस्याले जोखिम बढ्दै गएको छ ।
तालिम लिएका उद्धारकर्ताहरूलाई सर्प उद्धारको लागि समुदायमा पुग्ने व्यवस्थापन भएको सब डिभिजन वन कार्यालय पिपराका प्रमुख शिव केसीले बताउनुभयो । घर आँगनमा सर्प देखिएमा केही नगरी तत्काल नजिकको वन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।