• १० पुस २०८१, बुधबार

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : प्रमुख सचेतक लेखक

blog

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक ।

काठमाडौं, असार १२ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने बताउनुभएको हो । उहाँले निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आज अर्थमन्त्रीले संसदमा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिबद्धता गर्ने पनि उहाँले जानकारी दिनुभयो । यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उहाँले उल्लेख गर्नुभयो ।

‘‘माननीय अर्थमन्त्रीजीले आज विनियोजन विधेयक २०८०/८१ का बारेमा जवाफ दिने पालो पनि तोकिएको छ कार्यसूचीमा । अर्थमन्त्रीजीले जवाफ दिने क्रममा निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता, विश्वसनीयतालाई कायम राख्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रूपले सम्पादन गर्नका लागि स्वतन्त्र कार्यालयहरू नै जिल्लामा रहने गरेर नै अगाडी बढिने छ ।,’’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘निर्वाचन आयोगका जिल्ला स्तरीय कार्यालयहरूलाई कुनै अन्य कार्यालयमा गाभिने छैन भनेर आज नै नेपाल सरकारको तर्फबाट अर्थमन्त्रीजीले प्रतिबद्धता गर्नुहुनेछ । यो सरकारको पनि प्रतिबद्धता हो । निर्वाचन आयोगमा पनि निर्णय भइसकेको अवस्था छ । मेरो आग्रह, सरकारले यो प्रतिबद्धता गर्नै पर्छ । यसको पक्षमा हामी पनि छौँ । त्यसकारणले सरकारले गर्छु भनिसकेको छ । प्रतिबद्धता व्यक्त हुन्छ ।’’

उहाँले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताउनुभयो ।