• २७ पुस २०८१, शनिबार

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेस गठनको आवश्यकता देखियो : नैनसिंह महर

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर ।

काठमाडौं, असार १२ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औँल्याउनुभएको छ । काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरूसँगको छलफल कार्यक्रममा उहाँले युवा कांग्रेस आजको आवश्यकता भएको बताउनुभएको हो ।

‘‘पार्टीका भ्रातृ सङ्गठनलाई पूर्णता दिनु त छ नै । सँगसँगै युवा कांग्रेस गठनसमेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस्,’’ उहाँले भन्नुभयो ।

युवा कांग्रेसलाई भ्रातृ सङ्गठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेसा र दलबाट कांग्रेसमा काम गर्न इच्छुक नेताका लागि स्कुलका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।

पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रूपमा युवा कांग्रेस बनाउन सकिने नेता महरको अवधारणा छ । ‘‘पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो एजेन्डा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरू आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ ।’’ उहाँले भन्नुभयो ।

२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा सङ्कट देखिँदा २०५४ सालम तरुण दल ब्युँताइएको स्मरण गर्दै अहिले अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ ।

‘‘२०५१ सालपछि पार्टीमा सङ्कट देखियो । त्यसपछि तरुण दल ब्युँताउँदा कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो ।’’ उहाँले भन्नुभयो,‘‘अहिले पनि पार्टीमा सङ्कट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई सङ्कटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गराउँदछु ।’’

पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फत् त्यसको उठान गर्न सकिने उहाँले बताउनुभयो । राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने ट्रेनिङ सेन्टरका रूपमा युवा कांग्रेस लाई विकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्याति प्राप्ति व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेशद्वार बनाउन सकिने महरको भनाइ छ ।