• १५ असार २०८१, शनिबार

राजनीतिमा नागरिक जवाफदेहिता

blog

राजनीतिमा नागरिक जवाफदेहिताबिना लोकतान्त्रिक स्थायित्व हुँदो रहेनछ भन्ने विगतको अनुभवले सिकाएको छ। लोकतान्त्रिक आदर्श, मूल्य र मान्यताको अक्षरशः पालना राजनीतिक स्थायित्वको मापक हो भने ती मूल्यमान्यताप्रति राजनीतिक अभिकर्ताले खेल्नुपर्ने सकारात्मक भूमिका जवाफदेहिता हो। जवाफदेहिता पूरा हुँदा मात्र लोकतन्त्र फस्टाउँछ। लोकतन्त्रमा नागरिकको शासनमा सहभागी हुने र आर्थिक विकासको अधिकार सुनिश्चित हुने भएकाले राजनीतिक जवाफदेहिता महत्त्वपूर्ण विषय हो। 

विकास र राजनीतिको अधिकार एक अविभाज्य मानव अधिकार हो। यसैका बलले प्रत्येक नागरिकले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासमा भाग लिन, योगदान गर्न र उपभोग गर्न पाउने हक र मौलिक स्वतन्त्रता सुरक्षित छ। अधिकार दाबी गरिरहँदा राजनीतिबाट जवाफदेहितालाई अलग गर्न सकिँदैन। नेपालमा यसको सरल अर्थ नागरिकले राजनीतिक तथा सार्वजनिक उत्तरदायित्व, सार्वजनिक प्रशासन र कर्मचारीमा जवाफदेहिता खोज्नु हो। जब नागरिकले राज्यका सबै संयन्त्रमा जवाफदेहिताको खोजी र मुद्दामा हस्तक्षेप गर्ने क्षमता राख्न थाल्छन् तब परिवर्तनको सुरुवात हुन्छ। यहाँ आन्तरिक चतुर  क्षमताको खडेरी परेकाले अधिकार र जवाफदेहिताको खोजी हुन सकेको छैन। 

लोकतान्त्रिक मान्यता र सिद्धान्त अनुसार नेपालका लोकतान्त्रिक अभिकर्ताले आफ्नो जवाफदेहितालाई बहन गरेका छैनन्। लोकतान्त्रिक जवाफदेहिता पूरा गर्न नसक्दा नेपाली विकासको संस्कृति फस्टाउन सकेको छैन। मुलुकको शासन प्रक्रियाका मुख्य अभिकर्ताको गैरलोकतान्त्रिक प्रवृत्तिले लोकतन्त्रको संस्थागत विकासमा अवरोध सिर्जना गरेको छ। यो प्रवृत्ति बढ्दै जाँदा लोकतन्त्रको सम्भावना झन् कमजोर हुने जोखिम हाम्रासामु छ। अरूको विचार र अस्तित्वप्रति जवाफदेही नहुने अलोकतान्त्रिक चरित्र नेपाली राजनीतिमा हाबी छ । यो प्रवृत्ति राजनीतिक दलका नेता, सरकार र राज्यका तमाम संयन्त्रमा सुस्त रूपमा फैलिरहेको छ। 

लोकतान्त्रिक व्यवस्था प्रचलित राजनीतिक व्यवस्थामध्ये सबैभन्दा सुन्दर हो तर पनि यसको सान्दर्भिकता र औचित्यमाथि प्रश्न उठिरहन्छ। लोकतन्त्रको संस्थागत विकासमा अपेक्षा गरे अनुरूप काम नहुँदा यो रक्षात्मक अवस्थामा पुग्नु स्वाभाविक हो। लोकतन्त्र प्रवर्धनका लागि लोकतान्त्रिक आचरण, मूल्यमान्यताको विकास घर, परिवार, समुदायदेखि नै हुनु पर्छ। लोकतन्त्रमा दल र नेता भन्दा नगरिकको क्षमताले ठुलो अर्थ राख्छ। त्यसैले सबैले मिलेर काम गरेमा आर्थिक लक्ष्य र सामाजिक न्यायको आकाङ्क्षा प्राप्त हुन्छ। यसका लागि जवाफदेहिता अभाव भयो भने विफल भइन्छ। त्यसैले लोकतान्त्रिक व्यवस्थाको सान्दर्भिकतामा जवाफदेहिताको विकल्प छैन। 

नेपालको लोकतान्त्रिक शासन प्रणालीको अभ्यासमा दलको विद्यमान गैरजवाफदेही प्रवृत्ति ठुलो चुनौती हो। यसले आममानिसमा लोकतन्त्रप्रति अविश्वास उत्पन्न गरेको छ। आफूले चुनेर पठाएका प्रतिनिधिले मतदाता, समाज र राष्ट्रको हितमा भन्दा पनि व्यक्तिगत फाइदाका लागि काम गर्न थालेपछि लोकतान्त्रिक व्यवस्थाले आफूहरूको हितका लागि काम गर्न नसकेको अनुभव नागरिकले गर्न थालेका छन्। सँगसँगै गरिबी, राजनीतिक अस्थिरता, महँगी जस्ता समस्याले पनि लोकतन्त्रलाई कमजोर बनाउँदै छ। यस्तो परिस्थितिमा लोकतन्त्र बलियो बनाउने एक मात्र उपाय भनेको लोकतान्त्रिक जवाफदेहिताको प्रवर्धनका लागि नागरिक हस्तक्षोप नै हो। 

नेपाल सङ्घीय लोकतान्त्रिक परिपाटीमा प्रवेश गरे पनि यहाँ लोकतन्त्रका मुख्य अभिकर्ता परिपक्क भइसकेका छैनन्। लोकतन्त्रविरोधी शक्ति विद्यमान छन्। राज्य रूपान्तरणको पाटोमा उल्लेख्य काम हुन सकेको छैन। नेपाली नागरिकलाई लोकतन्त्रको विशेषता र लोकतान्त्रिक जवाफदेहिताका विविध आयामले राष्ट्रनिर्माणमा पु¥याउने योगदानका विषयमा प्रभावकारी ढङ्गले सुसूचित गराउन सकिएको छैन। खासगरी परिवर्तनका संवाहक वर्गलाई लोकतान्त्रिक व्यवस्थाप्रति आकर्षित गराउने काम हुन सकेको छैन। न उनीहरूलाई लोकतान्त्रिक जवाफदेहिताका विविध विषयमा सुसूचित गर्नै सकिएको छ। यसबाट कलान्तरमा राजनीतिक जवाफदेहिता क्षीण भई लोकतन्त्र खतरामा पर्ने चुनौती सिर्जना हुन सक्छ।

राजनीतिक दलहरूमा जवाफदेहिताको संस्कृति नदेखिँदा नागरिकको लोकतन्त्रप्रतिको आकर्षण कम हुन सक्छ। यस परिस्थितिले बिस्तारै लोकतन्त्रप्रति नै नकारात्मक धारणा सिर्जना गराउन सक्छ। यो अवस्था आउन नदिनका लागि लोकतान्त्रिक जवाफदेहिता प्रवर्धनका दिशामा रचनात्मक संवाद सुरु गरिनु पर्छ। जुन काम अहिलेसम्म नेपालका नागरिक समाज तथा मुख्य साझेदारले अघि बढाउन सकेका छैनन्। युवासहित नेपाली नागरिकले आफ्नो आवाज राज्य तथा लोकतन्त्रका मुख्य अभिकर्ता राजनीतिक दलले सुनून् र जवाफदेहिता बहन गरुन् भन्ने अपेक्षा गरेर मात्र हुँदैन। जवाफदेहिताको खोजी र दाबी गर्न दाबीकर्ता आफैँ सक्रिय हुनु पर्छ। यसका लागि लोकतन्त्रमा राजनीतिक जवाफदेहिताका विविध पाटामा ज्ञानको आवश्यकता पर्छ। यसो भयो भने सिङ्गो समाज जवाफदेहिताको खोजीमा सक्रिय हुँदा राजनीतिक नेतृत्वले पनि जवाफदेहिताको कार्यादेशबाट भाग्न पाउँदैन। यसरी लोकतन्त्रका मुख्य अभिकर्ता, उनीहरूको जवाफदेहिता र दाबीकर्ताबिचको खाडल पूरा गर्न पनि लोकतान्त्रिक जवाफदेहिताका विविध पाटामा प्राज्ञिक बहस नेपाली समाजमा अहिलेको आवश्यकता हो। 

लोकतन्त्रको सबलीकरणका लागि अहिलेको अवस्थामा खास गरी समुदायलाई लक्षित गरी राजनीतिक जवाफदेहिता प्रवर्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। नागरिकलाई लोकतन्त्रमा राजनीतिक जवाफदेहिताका आधारभूत विशेषताबारे जानकारी गराउने, यसका विविध पक्षमाथि युवामाझ अन्तव्रिर्mया र छलफल चलाउने तथा उनीहरूलाई लोकतन्त्र र राजनीतिक जवाफदेहिताको अवधारणा बुझाउन सक्ने शैक्षिक सामग्री उपलब्ध गराउने काम हुन आवश्यक छ। यसो गर्न सके नागरिकले लोकतन्त्रलाई राजनीतिक प्रणालीमध्ये उत्तम बनाउन जवाफदेहिता आवश्यक छ भन्ने बुझ्न सक्छन् र उनीहरूले जवाफदेहिताको खोजी दाबी गर्न थाल्ने छन्। जसले गर्दा लोकतान्त्रिक मूल्यमान्यताको संस्कृति फस्टाउने र आर्थिक प्रगतिको अवसरलाई समेत समाजले ग्रहण गर्न सक्ने अवस्था बन्छ। यो सँगसँगै राज्य, राजनीतिक दल र नेतालाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन पनि ठोस पहल गरिनु पर्छ। यस्तो काममा नागरिकलाई सक्रिय गराउनु उत्तम उपाय हो। बन्द, हडताल, नारा, जुलुस भन्दा पनि छलफल, अन्तव्रिर्mया, पाठ्य सामग्री प्रकाशन जस्ता विशुद्ध बौद्धिक तरिका अपनाउन सके यसले लोकतान्त्रिक संस्कारलाई संस्थागत गर्ने र राजनीतिक जवाफदेहिता अभिवृद्धि गर्ने दुवै काम गर्न सक्छ।

लोकतान्त्रिक प्रणाली सुदृढ गर्न र नेपाली राजनीतिक प्रणाली तथा राजनीतिक अभिकर्तामा जवाफदेहिता बढाउन लोकतन्त्र र जवाफदेहिताका सैद्धान्तिक पक्षसँग अधिकारका विषयवस्तु समेतलाई जोडेर सम्बोधन गर्नु पर्छ। किनभने मुख्य दुई अधिकार समूह नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको केन्द्र राजनीतिक जवाफदेहिता र लोकतन्त्रको स्थायित्व हो। नागरिक तथा राजनीतिक अधिकार समूहले व्यक्तिलाई लोकतान्त्रिक अभ्यासका लागि अभिप्रेरित गर्छ र लोकतान्त्रिक अधिकारको प्रत्याभूति दिलाउँछ। यही माध्यमले आर्थिक अधिकारको लक्ष्यलाई सम्भव बनाउँछ। 

सम्मानित जीवनका साधन र स्रोतमाथिको पहुँच स्थापित गर्ने आधार भनेको राजनीतिक सहभागिता हो। स्रोत र साधनबाट वञ्चित नागरिकको समन्यायमा आधारित पहुँच स्थापनाका लागि राजनीतिक जवाफदेहिताले महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले लोकतान्त्रिक समाजमा व्यक्ति र समूहको राजनीतिक तथा आर्थिक विकासका लागि जवाफदेहितालाई तलबाट माथि जाने अवधारणा अनुरूप खोजी र अभिव्यक्त गरिनु पर्छ। यसले नागरिक र लोकतन्त्रलाई जोड्छ र उच्च तहमा जवाफदेहिताको खोजी गर्दै लोकतान्त्रिक परिपाटी स्थापनाका लागि विशिष्ट अभियान र विषयवस्तु चयन गर्छ। उन्नत लोकतान्त्रिक समाजका सिकाइलाई हाम्रा सन्दर्भमा जवाफदेहिता खोजीका आधार बनाउँछ। यसो गर्दा भर्खरै लोकतान्त्रिक अभ्यासमा प्रवेश गरेको हाम्रो मुलुक विश्वव्यापी प्रचलनमा आएका लोकतान्त्रिक मूल्य र मापदण्डसँग जोडिन पुग्छ। यसले नेपाली समाजमा विद्यमान ‘राजनीतिक भन्ने कुरा सत्ता प्राप्ति मात्र हो’ भन्ने बुझाइलाई चिरफार गर्दै चुनौती दिन थाल्छ। हाम्रो राजनीतिक अभ्यासलाई जवाफदेही लोकतान्त्रिक प्रणालीको उचाइमा यसले पु¥याउँछ।

राजनीतिमा नागरिक जवाफदेहिता भनेको असल नेता छनोट गर्नु हो। नागरिकले राजनीतिज्ञलाई पुरस्कृत, स्वीकृत र बहिष्कार गर्ने क्षमता राख्नु हो। लोकतन्त्रमा सबैभन्दा ठुलो प्रतिनिधि छनोटको अधिकार नागरिकले आवधिक निर्वाचनमार्फत उपयोग गर्दछन्। नागरिकको जस्तो बुझाइ र जवाफदेहिता रहन्छ, अनि त्यस्तै प्रतिनिधिबाट शासित हुनु पर्छ। इतिहासले सिकाएको पाठ नसिक्नेले सजाय पाउनै पर्छ। विगत र वर्तमानको समीक्षा गर्दा भविष्यको सुदृढीकरण तथा विस्तारलाई प्रभाव पार्ने प्रमुख निर्णायक आयाम आर्थिक विकास र राजनीतिमा नागरिक जवाफदेहिता नै हुन्। यी दुवै विषयको सम्भावनाको मुख्य आधार भनेको नागरिक जवाफदेहिता र दक्षता नै हो। 

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ।

  

Author

राजकुमार सिवाकोटी