• १२ मंसिर २०८१, बुधबार

विश्वासको धरोहर

blog

नेपालका पहिलो प्रधान न्यायाधीश हरिप्रसाद प्रधानले त्यो बेलामा जमाएको विश्वासको चर्चा अदालतहरूमा अहिले पनि भइरहेकै छ। न्याय क्षेत्रमा काम गरिरहेका सबैले त्यो सिको गर्न जरुरी छ। यता आएर उहाँले कमाउनुभएको विश्वास केहीले गरेको कामबाट धर्मराएको छ। बहुदा  मानव मात्रको स्वार्थी स्वभाव अहिले न्याय क्षेत्रमा पनि राजनीतिका माध्यमबाट प्रवेश गरेको छ। नेपालमा देखिएका आमविकृति हटाउने हो भने न्याय क्षेत्र मात्रै सक्रिय र निष्पक्ष भए पुग्छ। राणा शासनको कुरै नगरौँ। पञ्चायत कालमा पनि अन्तिममा सबैको विश्वासको बिन्दु अदालत नै थियो। 

अहिले जसले जति कुरा गरे पनि अन्त्यमा सबैले अदालतको शरण नलिई सुखै छैन। सबैले न्याय खोज्न जाने ठाउँ अदालत नै हो। त्यसैले न्यायालय स्वतन्त्र र निष्पक्ष हुनु पर्छ भनिएको हो। यहाँ न्यायाधीशबाट पनि बेला बेलामा तलमाथि फैसला आइदिन्छ। अदालतमा पनि चरण चरणमा फरक फैसला हुने गरेका छन्। उदाहरणका लागि हालै सर्वोच्च अदालतबाट नागरिकता मुद्दाको रिटमा ‘सिङ्गल बेन्च’ र ‘डिभिजन बेन्च’ बाट फरक फैसला आएको छ। यो अदालतको चरणमा स्वाभाविक भए पनि सर्वसाधारण जनतालाई बुझ्न गाह्रो हुन्छ। यसो हुँदा अदालतप्रति भ्रम उत्पन्न हुन्छ। यसले अदालतप्रतिको विश्वासको धरोहर डगमगाउन सक्छ ।  सकेसम्म यस्तो नहुँदा जनतामा भ्रम पर्ने थिएन। यस्ता जटिल र चर्चित मुद्दामा न्यायमूर्तिले बेलैमा गम्भीर भएर फैसला गर्न सके  नेपाली जनताका बिच राम्रो सन्देश जाने थियो। 

कानुन कार्यान्वयनमा कडाइ भए नेपाललाई सही दिशा लिन सक्छ। यसका लागि न्यायमूर्तिले निःस्वार्थपूर्र्वक दृढताका साथ आफ्नो काम सम्पादन गर्न आवश्यक पर्छ। निःस्वार्थ भएर काम गर्दा हिम्मत स्वतः आउँछ। अहिले न्यायमा यस्तै नेतृत्वको खाँचो छ। यति बेला नेपाली नागरिकमा निराशा छाएको छ। राष्ट्र र जनताका हितका लागि यस्तो अवस्था रहन दिनु हुँदैन। यसको यथाशीघ्र अन्त्य गर्न आवश्यक छ। 

नेपालमा भ्रष्टाचार व्याप्त भएकोमा दुई मत छैन। सबै कार्यालयमा काम गराउन घुस अनिवार्य भएको छ। कुनै न कुनै तरिकाले पैसा नदिए समयमा काम हुँदैन। यो अकाट्य सत्य हो। हालै भएको नक्कली भुटानी शरणार्थी प्रकरणले आम रूपमै सबैलाई चिन्तित बनाएको थियो। भुइँमान्छेको कल्याणको आकर्षक नारा दिएर ‘जनयुद्ध’ मा होमिएका टोपबहादुर रायमाझी, नेपाली कांग्रेस जस्तो लामो इतिहास बोकेको नेविसङ्घको अध्यक्ष हुँदै दलको सुरक्षा दस्ता तरुण दलको नेतृत्व पनि सम्हालेका पूर्वगृहमन्त्री बालकृष्ण खाण जस्ता नाम चलेका नेतालाई पनि भ्रष्टाचार मुद्दामा जेल हालिएको छ। नेपालमा कर्मचारीले आफ्नो हैसियत र महत्व बुझेर निःस्वार्थ काम गर्न सकेको भए आज नेपालको यो दुर्दशा हुने नै थिएन। कर्मचारी अपवादबाहेक राजनीतिको सापेक्ष रूपमा रहेका आमबुझाइ छ । कर्मचारी अपवादबाहेक आफ्नो स्वार्थका लागि सधैँ राजनीतिक नेतृत्वको पिछलग्गु नै भएको तीतो अनुभव सबैले गरेका छन्। झन् बिचौलिया त नेपालमा शक्तिको नजिक रहेर पैसा कमाउने काममा तल्लीन भएकै देखिँदै आएको छ। यो प्रकरणमा पनि सुरुदेखि नै आमभूमिका बिचौलियाकै देखियो। 

यस्तो आम रूपमा चासो र चिन्ता रहेको भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले नाम चलेका भनिएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई थुनामा पठाउने आदेश गरेर न्यायालयप्रतिको विश्वासको धरोहर बढाउनुभएको छ। उहाँ यति बेला सबैको धन्यवादका पात्र हुनुहुन्छ। यसरी नै न्याय क्षेत्रमा काम गरिरहनुभएका हरेक तह र तप्काका सबैले निःस्वार्थपूर्वक हिम्मतका साथ नेपाल र नेपालीको हितमा काम गर्न आवश्यक छ। अनि मात्र न्यायको क्षेत्रमा हरिप्रसादको इतिहास पछ्याउन सकिन्छ। अहिलेसम्म न्यायपालिकाको इतिहासले बताए अनुसार अपवादबाहेक निष्कलङ्क इतिहास कायम गरेर अवकाश पाएका कमै मात्र प्रधान न्यायाधीश÷न्यायाधीश छन्। पञ्चायतकालको ३० वर्षमा राजाको प्रत्यक्ष शासन भएकाले न्याय क्षेत्र पनि निष्पक्ष हुन नसक्नु स्वाभाविकै थियो तर २०४६ पछि प्रजातन्त्रको समयमा पनि अधिकांशले राम्रो इतिहास कायम गरेको रेकर्ड पाउन गाह्रो छ। राम्रो इतिहास कायम गर्ने कोसिस गर्नुभएकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई पनि नेपाली राजनीतिका शीर्ष नेतृत्वले महाअभियोग लगाएर उहाँको राम्रोपनालाई धूमिल बनाउने प्रयत्न गरे। यसरी अहिलेसम्म न्याय क्षेत्रमा पहिलो प्रधान न्यायाधीश हरिप्रसादको पदचापलाई पूर्ण रूपले अनुसरण गर्ने विरलै पाइएका छन्। आज न्याय क्षेत्रको आवश्यकता भनेको हरिप्रसादको अनुसरण हो भन्ने आमनेपालीलाई लागेको छ। 

नेपाली राजनीतिक वृत्तमा कहिलेकाहीँ, कसै कसैले भन्ने गरेको सुनिन्छ–  मलाई त्यो अवसर एक दिन, एक महिना वा एक वर्ष दिएमा म यसो गरेर देखाउन सक्छु। जुन जोगी आए पनि कानै चिरेको भन्नुपर्ने वर्तमान अवस्थामा यो भनाइ सुन्दा जोकोहीलाई पनि आश्चर्य लाग्छ। कोही आएर राम्रो काम गरिदिए पनि हुन्थो भन्ने आमनेपालीलाई लाग्नु स्वाभाविक हो। नेपाल र नेपालीको दुर्भाग्य! अहिलेसम्म न राजनीतिक नेतृत्वबाट न त कर्मचारी वृत्तबाटै त्यो इतिहास कायम गरेको पाइएको छ। गर्न सक्नेका लागि यो असम्भव हुँदै होइन। जस्तोसुकै चुनौती पनि चिरेर गर्नेले सफलता हात पारेकै हुन्छ। सिङ्गापुर, मलेसिया, श्रीलङ्का वा भारत बनाउने नेताहरूले हाम्रैसामु यही समयमा  हामीले भन्दा धेरै राम्रो प्रगति गरेर देखाइसकेका छन्। हामी किन हेर्दाहेर्दै पछि परेका छौँ त ? यो हाम्रा लागि अहं सवाल हो। अब हामीले यसको जवाफ गरेर दिन सक्नु पर्छ। यो सजिलो नभए पनि असम्भव भने हाम्रो हकमा पनि छैन। सिङ्गापुरका ली क्वान बन्न कसैले हिम्मत गर्न जरुरी छ। सम्भव छ, हुन्छ। नेपालमा पनि नभएका होइनन्। 

न्याय क्षेत्रमा अहिलेलाई प्रेमप्रसाद न्यौपाने भइहाले। यस्तै आँखाका लागि सन्दुक रुइत, आविष्कारका लागि महावीर पुन, विद्युत्का लागि कुलमान घिसिङ र अर्थतन्त्रका जानकार स्वर्णिम वाग्ले, अनिलकेशरी शाह र गगन थापा आदि पनि छन्। यीबाहेक पनि धेरै हुन सक्छन्। योग्यता र इमानदारी प्रचुर मात्रामा भएर पनि नेपाली प्रवृत्तिले छोपेकाले ओझेलमा परेका वा पारिएका धेरै छन्; जसले अवसर पाएमा नेपाल र नेपालीको हितमा सोचेको भन्दा राम्रो छिटै गर्न सक्छन्। दुर्भाग्य! ती क्षमतावान् सपुतका लागि अवसर नै कहाँ दिइन्छ र ?

अहिले ठिक यस्तै अवसर आएको छ। हालै  प्रधान न्यायाधीश बन्नुभएका हरिकृष्ण कार्कीका लागि। होला कि नहोला भन्दै गर्दै छोटो अवधिका लागि प्रधान न्यायाधीश बन्नुभएको छ उहाँ। हुन त केही महिनादेखि कामु प्रधान न्यायाधीश भएर उहाँले नै काम गर्दै आउनुभएको थियो। भनिन्छ, नेपालमा पद पाएर पनि काम गर्न सकिँदैन वा काम गर्न नै दिइँदैन। झन् पदै नपाएको अवस्थामा कसरी काम गर्नु ? उहाँका लागि छोटो समय सुवर्ण अवसर हो। अहिलेसम्म न्याय क्षेत्र समस्याले ग्रस्त छ। न्यायपरिषद् पनि सक्रिय हुन सकेको छैन। न्याय छिटोछरितो र सर्वसुलभ  हुन नसकेकाले अदालत पनि बदनाम भएको छ। 

न्यायाधीश नियुक्तिमा राजनीतीकरण भएकाले समयमा योग्य व्यक्ति नियुक्त हुन नसकेर समयमा न्याय सम्पादन हुन नसक्दा न्याय नपाएसरह नै भएको छ। अनि यसअघिका प्रधान न्यायाधीशले जस कमाउन सकेको अवस्था पनि छैन। यो सुनौलो अवसरमा मौकामा चौकाको दाउ मिलेको बेलैमा हो हान्ने। दुई दिन भए पनि रुवामा खुट्टा टेकिहालियो। कमाउनेतिर लाग्ने नै हो भने लामो समय अवसर पाएका कमाउनेले कमाए जति पक्कै कमाउन सकिँदैन। वकिल, महान्यायाधिवक्ता, न्यायाधीश, कामु प्रधान न्यायाधीशसम्मका आरोह–अवरोह छोटै अवधिमा भोगैकै हुन्। बल्ल बल्ल मिलेको यो अवसरमा हरिप्रसाद प्रधानपछि कसैले नगरेको राम्रो काम गरेर सधैँका लागि सबैका लागि अदालतलाई विश्वासको धरोहर बनाउने काम गरेर देखाउने कि ? यसो गर्न सके सधैँका लागि आफ्नो नाम पनि अमर हुने र आउने पुस्ताले पनि सिक्नुका साथै आफ्नो कुलले पनि आशीर्वाद देलान् कि ?  

लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ। 


   

Author

बेनीबहादुर कार्की