• १० जेठ २०८१, बिहिबार

‘पाँच सय मेगावाट विद्युत् खेर गयो’

blog

काठमाडौँ, असार १२ गते । निजी क्षेत्रका ऊर्जा उत्पादकले विभिन्न ३० जलविद्युत् आयोजनाको करिब पाँच सय मेगावाट विद्यत् खेर जान थालेको औँल्याएका छन् । 

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान कार्यालयमा भएको छलफलमा ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले ३० जलविद्युत् आयोजनालाई आफ्नो क्षमताको आधा मात्रै विद्युत् उत्पादन गर्न बाध्य पारेको र यसबाट पाँच सय मेगावाट उत्पादन बन्द गराइएको आरोपसमेत लगाएका छन् ।

बर्सातसँग खोलामा पानीको बहाव बढेको र त्यसकै कारण जलप्रवाही आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन थालेसँगै प्रणालीमा विद्युत् अधिक हुन थालेपछि प्राधिकरणले उत्पादन घटाउन भनेको उनीहरूको आरोप छ । प्राधिकरणले बढी भएको विद्युत् भारत निर्यात गर्ने भने पनि हालसम्म ४५२ मेगावाट मात्र आइआइएक्समा निर्यातको अनुमति पाएको छ । यो वर्ष करिब आठ सय मेगावाट विद्युत्जडित क्षमता थप भएको तर भारत निर्यात भने बढ्न सकेको छैन । 

आन्तरिक खपत सामान्य बढे पनि सबै खपत हुन सक्ने अवस्था अझै नबनिसकेकाले यो वर्ष एक हजार मेगावाटसम्म खेर जाने खतरा रहेको औँल्याइँदै आएको छ ।

छलफलमा इप्पानका अध्यक्ष गणेश कार्कीले प्राधिकरणले टेक अर पे भनेर विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरिसकेपछि आयोजना बन्द भए पनि त्यसको पैसा दिनुपर्ने माग गर्नुभएको थियो ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले ४० लाख सर्वसाधारण लगानीकर्ता र सबै बैङ्कको लगानी रहेको यो क्षेत्रलाई खेलाँचीका रूपमा लिएको आरोप लगाउनुभयो ।

ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले विद्युत् बिक्री गर्न नसक्ने अवस्थामा प्राधिकरणले निजी क्षेत्रका मात्रै आयोजना बन्द गराउने नभई आफ्ना आयोजना पनि बन्द गर्नुपर्ने औँल्याउनुभयो । छलफलमा सहभागी प्रवर्धक सुजन पौडेलले हिउँदमा १५ प्रतिशत क्षमतामा चलेका आयोजनालाई बर्सातमा २० र २२ प्रतिशतभन्दा बढी क्षमतामा चलाउन विद्युत् प्राधिकरणले नदिएको आरोप लगाउनुभयो । 

इप्पानले गरेको छलफलमा लोड घटाउन बाध्य पारिएका आयोजनाको तथ्याङ्क सङ्कलन गरेर प्रतिवेदन तयार पार्न इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको इप्पानले जनाएको छ ।