• १३ मंसिर २०८१, बिहिबार

स्याङ्जाका १० पालिकाले ल्याए बजेट

blog

अर्जुन काफ्ले/राधाकृष्ण डुम्रे

स्याङ्जा, असार ११ गते । पाँच नगरपालिका र छ गाउँपालिका सहित ११ स्थानीय तह रहेको स्याङ्जामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १० पालिकाले मात्र बजेट सार्वजनिक गरेका छन् । बिरुवा गाउँपालिकामा विवादका कारण बजेट ल्याउन सकेको छैन ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार जिल्लाका पालिकाहरूले बजेट गाउँ-नगर सभामा प्रस्तुत गरेका हुन् । 

पुतलीबजार नगरपालिकाले चालुतर्फ ९४ करोड ५८ लाख ८६ हजार र पुँजीगततर्फ ४५ करोड ६४ लाख ८५ हजार गरी एक अर्ब ४० करोड २३ लाख २८ हजारको बजेट सार्वजनिक गरेको हो । जिल्लाकै मुख्य व्यापारी केन्द्र रहेको वालिङ नगरपालिकाले एक अर्ब आठ करोड ८९ लाख ८३ हजार बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार र पुँजीगततर्फ ४७ करोड ३३ लाख ५१ हजार बजेट सभामा प्रस्तुत गर्नु भएको पालिकाले जनाएको छ । 

यस्तै, गल्याङ नगरपालिकाले ८१ करोड ४४ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १५ करोड ५६ लाख, सामाजिक विकासतर्फ ३६ करोड २० लाख र आर्थिकतर्फ आठ करोड ९२ लाख रहेको छ भने पुँजीगततर्फ १५ करोड चार लाख बजेट छुट्याइएको छ । चापाकोट नगरपालिकाले ६५ करोड ६७ लाख १७ हजार तीन सयको बजेट ल्याएको छ । 

चापाकोटले चालुतर्फ ४२ करोड एक लाख ६१ हजार तीन सय  र पुँजीगततर्फ २३ करोड ६५ लाख ५६ हजार रहेको छ । यस्तै, भीरकोट नगरपालिकाले भीरकोटले ८ गते ७८ करोड ८२ लाख १६ हजारको बजेट सार्वजनिक गरेको हो । चालुतर्फ ९८ करोड १५ लाख १६ हजार र पुँजीगततर्फ २० करोड ७७ लाख बजेट भिरकोटले ल्याएको हो । 

आँधीखोला गाउँपालिकाले आगामी आवको लागि ६२ करोड नौ लाख २० हजार रुपियाँको बजेट ल्याएको छ । आँधिखोलाले चालुतर्फ कार्यालय सञ्चालन र प्रशासनिक खर्चमा सात करोड ४५ लाख, आर्थिक, सामाजिक, सुशासन न्याय र समावेशीकरणतर्फ तीन करोड ५१ लाख २० हजार र पुँजीगततर्फ १३ करोड १५ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार सशर्त अनुदानतर्फ ३७ करोड ९८ लाख रहेको छ ।

यस्तै, अर्जुनचौपारी गाउँपालिकाले ४४ करोड ६९ लाख दुई सयको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ २६ करोड ७६ लाख दुई सय र पुँजीगततर्फ १७ करोड ९३ लाख रहेको छ । कालीगण्डकी गाउँपालिकाले ५४ करोड ५४ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । यहाँ चालुगततर्फ ३४ करोड २६ लाख र पुँजीगततर्फ २० करोड १८ लाख रुपियाँ रहेको छ ।

हरिनाश गाउँपालिकाले असार ५ गते ४३ करोडको बजेट सार्वजनिक गरेको हो । फेदीखोला गाउँपालिकाले ३९ करोड ८० लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ २७ करोड ४३ लाख २५ हजार र पुँजीगततर्फ १२ करोड ३७ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । 

यसैगरी, करारका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै कार्यपालिकाको बैठकमा विरोध भएपछि बिरुवा गाउँपालिको बजेट ल्याउन सकेको छैन । पालिकाले भने गणपूरक सङ्ख्या नहुँदा गाउँ सभा स्थगित भएको बताइएको छ । 

यहाँ हरिनाशले यहाँका पालिकाले बजेटमा सडकलाई निरन्तरता दिँदै पहिलो प्राथमिकतामा राखेका छन् भने शिक्षा, स्वास्थ्य, खानेपानीमा बजेट छुटाइएको छ । यस्तै कृषि, पशुपालनमा यस पटक गाउँपालिकाले हात अगाडी बढाएको छ भने अर्को आर्थिक वर्षबाट युवामा आय आर्जनमा लगानी गर्ने बताइएको छ ।