अर्जुन काफ्ले
स्याङ्जा, असार ११ गते । अर्जुनचौपारी गाउँपालिकाको १३ औँ गाउँ सभामा जनयुद्ध र मधेश आन्दोलनलाई नीति तथा कार्यक्रम समेट्ने प्रयास गरेको छ।
स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) तथा मधेशवादी दलले जितेको पालिकामा जनयुद्ध र मधेश अन्दोलनलाई समेट्नु स्वाभाविककै भएको बताइएको छ।
नेपाली कांग्रेसले दुई तिहाइभन्दा बढी रहेको गाउँपालिकामा ऐतिहासिक आन्दोलनका रूपमा चित्रण गरिएको हो। ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइते, अपाङ्गता, योद्धाका टुहुरा, बेपत्ता एवं तिनका परिवारजनलाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले नीति तथा कार्यव्रmममा स्मरण गर्नुभएको छ ।
एक वर्षमा उल्लेख्य प्रगति
गाउँ सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पछिल्लो एक वर्षमा शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण र गौरव गर्न लायक सुधारहरू भएको बताइएको छ।
रुग्ण अवस्थामा रहेका र लामो समयदेखि अलपत्र परेका योजनालाई निरन्तर खबरदारी, अनुगमन, सहजीकरण र समन्वयबाट प्रगति गर्न सफल भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक वर्षमा साढे चार किमी सडक कालोपत्रे, तीन महिनामा ट्रस ब्रिज निर्माण, एमआई १६ ल्यान्ड गर्न सक्ने हेलिप्याड, स्थानीय पाठ्यपुस्तक लेखन जस्ता धेरै महìवपूर्ण काम गरेको बताइएको छ ।
नीति तथा कार्यक्रममा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने सडक आफ्नो कार्यकालभित्र नै कालोपत्रे गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ।
शैक्षिक सुधार केन्द्र स्थापना
यहाँको शैक्षिक सुधारका लागि गाउँपालिकाको केन्द्रमा शैक्षिक सुधार केन्द्रको स्थापना गर्ने नीति पालिकाले लिएको छ। शिक्षण सिप कम भएका शिक्षक र कमजोर विद्यार्थी पहिचान गरी क्षमता अभिवृद्धि गर्न शिक्षण सिकाइ तालिम सञ्चालन गर्न केन्द्र स्थापना गर्ने नीति लिएको पालिका प्रमुख तिवारीले बताउनुभयो।
सामुदायिक विद्यालयको सर्वपक्षीय मूल्याङ्कन र सुधारका लागि शैक्षिक सुधार कार्यक्रम अगाडि बढाउने बताइएको छ। विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकलाई विद्यालय र विद्यार्थीको भविष्यप्रति अझै जिम्मेवार बनाउन दण्ड र पुरस्कारको नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
टोलटोलमा स्वास्थ्य सेवा
‘नागरिकलाई टेवा, टोलटोलमा स्वास्थ्य सेवा’ भन्ने नाराका साथ आवश्यक औषधी, सरसफाइलगायत अन्य जनचेतनामूलक कार्यक्रमका साथै सामुदायिक स्वास्थ्य सेवा घर घरमा पु-याउने लक्ष्य लिएको छ।
गर्भवती महिला, शिशु, बालबालिका, अस्वस्थ तथा अशक्त व्यक्तिको हेरचाह र उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। पालिकामा आँखाको समस्या भएका बिरामीको अवस्थालाई मध्यनजर गरी स्याटेलाइट आई क्लिनिक सञ्चालनमा ल्याउने बताएको छ।
आमा समूहलाई आयआर्जनमा जोड्ने
नीति तथा कार्यक्रममा महिलाको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्ने तथा सामुदायिक विकासका कार्यमा समान सहभागिता गराउँदै आमा समूहलाई आयआर्जनमा जोड्ने बताइएको छ। यसका लागि सबै टोलमा आमा समूह गठन गरी सामूहिक खेती गरिने भएको छ।
त्यसका लागि क्षमता अभिवृद्धि गर्दै आवश्यक बिउबिजन, औजार, बिरुवा उपलब्ध गराइने छ र अनुदानको प्रभावकारिताका लागि अनुदान दिनुपूर्व सम्बन्धित गाउँको आमा समूहको सिफारिस अनिवार्य गर्ने बताइएको छ।
खोलामा माछापालन
कृषकले उत्पादन गरेका तरकारी, फलफूल, अन्नबाली, दुध, माछा, मासुलगायतका उत्पादनको बजारीकरण गर्ने, मूल्य अभिवृद्धि गर्ने र सम्भावित क्षतिलाई परिपूर्ति गर्न पालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गरी सहयोग गर्ने नीति लिएको छ।
यहाँको दरौँखोला, केबरेखोला र दिर्जेखोलामा माछा पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिएको छ। अर्जुनचौपारी बजार क्षेत्रभित्र सिसिटिभी क्यामरा, सडकबत्ती जडान गरी सुरक्षा व्यवस्थालाई चुस्त बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ।
कर्मचारी र जनप्रतिनिधिबिच विवाद
वालिङ समाचारदाताका अनुसार बिरुवा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच विवाद हुँदा १३ औँ गाउँ सभा तथा बजेट अधिवेशन स्थगित भएको छ। असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनै पर्ने कानुनी प्रावधान भए पनि पालिकाले विवादका कारण असार १२ गतेका लागि बजेट अधिवेशन बोलाएको छ।
शनिबारका लागि तय गरिएको गाउँ सभामा कर्मचारी र जनप्रतिनिधिविच विवाद हुँदा जनप्रतिनिधिले सभा छोडेर हिँडेका छन्। अब मङ्गलबारका लागि सभा राखिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो।
उहाँले सूचना निकालेर गणपूरक सङ्ख्या नपुगेका कारण सभा मङ्गलबारका लागि सारिएको जानकारी दिनुभएको हो। गण्डकी प्रदेश, स्थानीय तह सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ६(१) अनुसार गणपूरक सङ्ख्या नपुग भएकाले ६(२) बमोजिम असार १२ गतेका लागि सभाको आह्वान गरिएको पालिकाले निकालेको सूचनामा उल्लेख छ।
यसैबिच गाउँपालिकामा कार्यरत कर्मचारीले जनप्रतिनिधिबाट आफूमाथि अमर्यादित र अभद्र व्यवहार भएको बताएका छन्। कर्मचारीले एक विज्ञप्ति जारी गरी जनप्रतिनिधिले आत्मालोचना गर्नुपर्ने माग गरेका छन्।
किसानलाई यान्त्रिक हलो र मिल
गल्याङका किसानलाई आधुनिक यान्त्रिक हलो र मिल वितरण गरिएको छ। गल्याङ नगरपालिकाले किसानको पैसा र समय बचत गराउने उद्देश्यले ११६ जना किसानलाई ५० लाख मूल्य बराबरको उपकरण वितरण गरेको हो।
नगरपालिकाले वडा, भेग र टोल मिलाएर अगुवा किसानलाई उपकरण वितरण गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो। यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन उपकरण वितरण गरिएको भट्टराईको भनाइ छ।
सात हर्स पावरको हाते ट्याक्टर ७० वटा, तीन हर्स पावरको कम्बाइन्ड मिल ४० वटा र धान काट्ने ब्रसकटर छ वटा वितरण गरेको नगरपालिकाले जनाएको छ। हाते ट्याक्टर ४८ हजार चार सय, कम्बाइन्ड मिल २७ हजार छ सय र ब्रस कटर १४ हजार आठ सय रुपियाँमा प्रति उपकरण खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख शिव ढकालले जानकारी दिनुभयो।