• १४ मंसिर २०८१, शुक्रबार

पूर्व मन्त्रीको नेतृत्वमा सडक भत्काइयो

blog

विजयनगर गाउँपालिकाले मर्मत गरेको सडक भत्काइँदै । तस्बिर : घनश्याम भर

जानु पाण्डे

कपिलवस्तु, असार ९ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मर्मत सम्भार गरेको सडक पूर्वमन्त्री नेतृत्वको टोलीले भत्काएको छ । विजयनगर गाउँपालिकाले वडा –६ थानखजहनी सडक ग्राभेल गरी मर्मत सम्भार गरेको सडक लुम्बिनी प्रदेशमा पूर्व उद्योग, पर्यटन तथा यातायातमन्त्री जानकी यादवसहितको टोलीले भत्काएको हो ।  

एक दशक अगाडि जिल्ला विकास समितिले निर्माण गरेको सडकलाई गाउँपालिकाले स्तरोन्नति गर्न लागेको थियो । स्थानीय गान्ही यादव, पुन्ने यादव, अर्जुन यादव र नन्कु कोरीले मर्मत हँुदैगरेको सडक शनिवार बिहान भत्काइएको हो । 

बाटो बनाउन छलफल नगरी पालिकाले जबरजस्ती बाटो निर्माण गरेको आरोप उहाँहरुको छ । मर्मत गरेको क्षेत्र आफ्नो जग्गा भएको हुँदा सडक खनेको गान्ही यादवले बताउनुभयो । 

वडा अध्यक्षले स्थानीयसँग छलफल नगरी मनोमानी ढङ्गले सडक निर्माण गरेकाले स्थानीयले विरोध गरेको पूर्वमन्त्री यादवले बताउनुभयो । सो सडकले गाउँपालिकाको वडा १ को थरौली जुटपानी हुँदै खडैचा जोड्ने स्थानीय कृष्ण पौडेलले बताउनुभयो । 

पालिकाले निर्माण गरेको अस्पताल, विद्यालय र स्वास्थ्य चौकी पुग्ने सडक भएकाले स्थानीयको मागअनुसार ४ लाख रकमको लागतमा सडक मर्मत गरेको बडा १ का वडा अध्यक्ष प्रेमबहादुर कलवारले बताउनुभयो । सडक मर्मतका लागि स्थानीयसँग सहमति समेत भएको वडा अध्यक्ष कल्वारले दाबी गर्नुभयो ।