• २० असोज २०८१, आइतबार

मिक्वाखोलामा तीन संरचना निर्माण गरिँदै

blog

मिक्वाखोला गाउँपालिका केन्द्र थलङमा निर्माणाधीन अवस्थामा रहेको पाँच शैयाको अस्पताल भवन । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङमा तीन वटा संरचना एकसाथ निर्माण गर्न थालिएको छ । करोडौँ रकम लगानी हुने गाउँपालिकाको प्रशासकीय भवनसहितका संरचना निर्माण हुन थालिएको हो ।

सङ्घीय संरचनासँगै स्थानीय तह (गाउँपालिका) स्थापना भएको सात वर्षपछि मिक्वाखोला गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण गर्न सुरु गरेको हो । प्रशासकीय भवनसँगै थलङमा हाल पाँच शय्याको अस्पताल भवन र बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिँदैआएको छ । 

मिक्वाखोला गाउँपालिका योजना शाखाका अनुसार कूल ९ करोड ४९ लाख ४३ हजार ७०३ रुपियाँको लागतमा प्रशासकीय भवन निर्माण सुरु गरिएको छ । सब–इन्जिनियर तथा योजना शाखामा कार्यरत गजेन्द्र थलङका २०७९ जेठ ९ गते आशिष्–स्वामीनारायण–योगेश्वर जेभी निर्माण कम्पनी र गाउँपालिकाबीच सम्झौता भई भवन निर्माणको काम सुरु भएको हो । 

प्रशासकीय भवन निर्माण कार्य २०८२ जेठ ८ गते सम्पन्न गर्नुपर्ने सहमति छ । हालसम्म करिब २५ प्रतिशत काम सकिएको थलङले जानकारी दिनुभयो । तीन तले प्रशासकीय भवन संरचनामा २७ वटा कोठा हुनेछन् ।

यस्तै, चालू आर्थिक वर्षभित्र अर्थात् २०८० असार ३१ गतेभित्र निर्माण गरिसक्नुपर्ने बहुउद्देश्यीय कभर्ड हलको कार्य भने अन्तिम चरणमा पुगेको छ । कूल दुई करोड १४ लाख ९४ हजार २८२ रुपियाँ लागत रहेको कभर्ड हल २०७९ साल भदौ ६ मा पलाञ्चोक कन्स्ट्रक्सन प्रालि धुलिखेल काभ्रे र गाउँपालिकाबीच सम्झौता भएर निर्माण कार्य सुरु भएको हो । 

कभर्ड हल निर्माण कार्यमा हालसम्म करिब ९० प्रतिशत प्रगति देखिएको गाउँपालिकाको योजना शाखाले जनाएको छ । प्याराफिट (दर्शकदिर्घा) सहितको ब्याडमिन्टन खेल सञ्चालन गर्न र सभा, सम्मेलन तथा विवाह, शुद्धाईजस्ता सांस्कृतिक काम गर्न समेत हुनेगरी बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिँदैआएको छ ।

यसैबीच कूल छ करोड ६२ लाख २४ हजार १४४ रुपियाँको लागतमा पाँच शय्याको अस्पताल निर्माणको काम पनि तीव्र रूपमा भइरहेको छ । निर्माण कम्पनी बीकोइ–सेवालुङ–पहाडी जेभी र गाउँपालिकाबीच २०७८ असार ३० गते योजनाको सम्झौता भई निर्माण कार्य सुरु गरिएको छ ।

चालू आवको असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने अन्तिम म्याद रहेकोमा अस्पताल भवन निर्माण कार्यमा हालसम्म करिब ६० प्रतिशत मात्र प्रगति देखिएको सब-इन्जिनियर थलङले बताउनुभयो । एक एमवीवीएस डाक्टर, एकजना ल्याब प्राविधिक र प्रशासनसहित १८ जना जनशक्ति रहने पाँच शय्याको अस्पताल भवन निर्माण कार्यमा हालसम्मको प्रगतिलाई हेर्दा केही सुस्त गतिमा काम भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत ललितनारायण यादवले बताउनुभयो । 

उहाँका अनुसार अस्पताल भवनको भुइँतलामा ३६ कोठा र आवास तथा मेष सञ्चालनका लागि माथिल्लो तलामा थप चारवटा कोठा रहने छन् । यता निर्माण (ठेकेदार) कम्पनीलाई निरन्तर ताकेता गरिरहेका कारण प्रशासकीय भवनसहित अन्य संरचना निर्माण कार्यमा सोचेअनुसार नै प्रगति भइरहेको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको भनाइ छ । 

निर्माणको सुरुवात अवस्था रहेको प्रशासकीय भवनलाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीले गर्ने काममाथि निरन्तर निगरानी राखिने अध्यक्ष कार्कीले बताउनुभयो । काममा तीव्रता दिनलाई गरिएको ताकेतासँगै कभर्ड हल निर्माण कार्य भने अन्तिम चरणमा पुगेको र अस्पताल भवन निर्माणको कार्य पनि पछिल्लो समय तीव्र रूपमा भएको उहाँले बताउनुभयो । 

अस्पताल भवनको काममा सुरुवातमै ढिलासुस्ती गरिएकाले निर्धारित समयभित्र सम्पन्न हुन समस्या रहेको उहाँले बताउनुभयो । थप हुने अतिरिक्त समयमा निर्माण कार्यमा तीव्रता दिन लगाई तोकिएकै अवधिमा भवन निर्माण सम्पन्न गर्न लगाइने उहाँको भनाइ छ ।   

प्रशासकीय भवनसहित ठुला योजनाहरू एकसाथ निर्माण हुँदै आए पनि तत्काल निर्माण कम्पनीलाई रकम भुक्तानी दिनुपर्ने अवस्थामा भने बजेट नभएको गाउँपालिकाका लेखा शाखा प्रमुख प्रशान्त खतिवडाले जानकारी दिनुभयो ।