बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार ९ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका –२ बितिजोरमा शनिबार बिहान बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ ।
लगातारको वर्षापछि खसेको पहिरो र लेदा माटोसहित आएको बाढीले कुखुरेटार, तीनमाने, भालुखोला, कटहरेका ३१ घरमा क्षति पुर्याएको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कुखुरेटारमा पहिरोले मङ्गलबहादुर माझीको घर र चित्रबहादुर माझीको स्थानीय जातको ६० वटा कुखुरा र पाँच वटा सुँगुरसहित गोठ बगाएको ।
वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘‘राति वर्षासँग बस्तीभन्दा माथि पाखाबाट लेदोमाटोसहित बगेर आएको बाढी घर भित्र पसेर सबै ठाउँमा गरी ३१ घरमा क्षति पुगेको छ ।’’
माझी बस्तीमा सेते माझी, रामबहादुर माझी, लालबहादुर माझी, प्रेमबहादुर माझी सहित सबै घरमा क्षति पुगेको उहाँले बताउनुभयो । बाढीपहिरो पीडित परिवारहरू अहिले पनि क्षति भएको घरमा नै बसी रहेका छन् । उनीहरू राहत सहयोगको पर्खाइमा रहेको स्थानीयले बताएका छन् ।
बितीजोर खोलामा आएको बाढी खेतमा पसेर तीनमाने, कटहरे, भालुखोलामा मकै र रोपाइँका लागि राखिएको धानको ब्याड पुरेर बाँकी केही नराख्दा किसान मर्कामा परेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । कसको कति क्षति भयो भन्ने विवरण सङ्कलन र राहत सहयोगका लागि पहल भइरहेको उहाँको भनाइ छ ।
घरमा लेदो पसेर बस्नै नहुने गरी पुरेको पीडित सेते माझीले गुनासो गर्नुभयो । उहाँका अनुसार तरकारीको टनेल समेत लेदोसहितको पहिरोले पुरिदिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत कुखुरेटारमा ठाउँ ठाउँमा माथिबाट झरेको पहिरो सडकमा थुप्रिदा एकतर्फी यातायात सञ्चालन भएको स्थानीले बताएका छन् ।